काठमाडौँ । भारत यतिबेला पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहको निधनको शोकमा छ । उनको निधनसँगै सरकारले सात दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
तर कांग्रेस पार्टीकै आफ्ना नेता एवं अभिभावकको निधनका बेलामा कांग्रेस नेता एवं विपक्षी दलका नेता राहुल गान्धी भने नयाँ वर्ष मनाउन भियतनाम गएका छन् ।
भारतीय जनता पार्टी भाजपका प्रवक्ता शहजाद पुनावालाले मंगलबार भने, ‘देश शोकमा छ तर राहुल पार्टी गर्न विदेश गएका छन् ।’
पुनावालाले अगाडि भने, ‘डा मनमोहन सिंहको निधनपछि राष्ट्रिय शोक छ । यसबीचमा लोकसभाका विपक्षका नेता राहुल गान्धी छुट्टी मनाउन विदेश गए । उनका लागि नयाँ वर्षको खुशी मनाउन धेरै अर्थ राख्छ ।’
राहुलले सार्वजनिक स्थलमा मनमोहनलाई पिता जस्तै मान्ने पनि बताउने तर राष्ट्रिय शोक भएका बेलामा विदेश गएर दिवंगत मनमोहनको अपमान गरेकोसमेत पुनावालाले जिकिर गरेका छन् ।
राहुलले भने नरेन्द्र मोदी सरकारलाई मनमोहनको अपमान गरेको आरोप लगाउँदै आएका थिए ।