arrow

समिति बैठकमा कोरम नपुग्ने समस्या

कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेन्डर बनाउन सांसदहरूको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
roster-samiti.jpg

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरूले क्यालेन्डर बनाउनुपर्ने माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेन्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उनहरूको भनाइ छ । 

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरू गैर जिम्मेवार जस्तो देखिएको बताए । उनले संसद् चलेपछि त्यहीअनुसारको क्यालेन्डर बनाए पनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेन्डर बनाउनुपर्ने बताए । समितिको काम अनुगमन गर्ने र उजुरीहरू हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गरे । उनले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरू गर्न नसकिरहेको बताए । 

उनले भने, ‘समिति मिटिङको कोरम पुर्‍याउनलाई पनि अपm्ठ्यारोजस्तो भयो । यस्तै हुने हो भने जिम्मेवार नभए जस्तो देखिने भयो हामी सबै पनि । यसका लागि अनिवार्य रूपमा हाम्रो क्यालेन्डर चाहिने भयो । हाउस खुला भयो भने त्यहाँको कार्यक्रमहरूलाई ध्यान दिएर त्यहीअनुसारले तयार होला । नभए हामीले १५ दिनको हुन्छ कि २० दिनको हुन्छ संसद् खुल्नु भन्दा पहिलेको भए पनि एउटा क्यालेन्डर बनाऊँ । क्यालेन्डर बनेको अवस्थामा अरू कामहरू गर्न पनि पाइयो । यो त निकै अपmअप्ठ्यारो भयो । अर्को, अनुगमनहरू हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरूमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरूमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौँ ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शङ्कर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरूको सुनिश्चितता गर्नुपर्ने बताए । उनले समितिले गरेका निर्णय र निर्देशनहरू सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरू दिने ? भन्दै प्रश्न समेत गरे । उनले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराए । 

उनले भने, ‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटी पनि भन्ने गर्छौँ । हामीले गरेका निर्णय र निर्देशनहरू सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरू दिने ? यो कुराको सुनिश्चितता हुनुपर्‍यो । अनि बैठकको बारेमा जानकारी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरू भइरहेका छन् । यसमा समितिज्यूले पनि ध्यान दिनुपर्‍यो है । ’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेन्डर बनाएर काम कारबाही गर्नुपर्ने बताइन् । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेन्डर आवश्यक रहेको उनको भनाइ छ । 

बैठकमा अधिकांश सांसदहरूले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेन्डर बनाउन आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ