युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छाडे - मिनेन्द्र रिजाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
847
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधार भए पनि युवाहरू कन्भिन्स हुन नसकेको बताए। उनले युवाहरूले नेपालमा सुरक्षित भविष्य देख्न छोडेको बताए ।
उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धि गर्यौँ । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैन । सबै कुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरक्षित देखिरहेको छैन । अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महसुस गरिरहेको छ । यसलाई चिरेर आशा र विश्वास जागृत गर्ने र हामीले नै बनाएको संविधानबाट लोकतन्त्रको बाँकी पक्षमा चाहिँ काम गर्नुपर्छ । हामीले संविधानमा लोकतन्त्रको मूल्य र मान्यतामा आधारित भनेका छौँ । त्यसमध्ये एउटा मात्र आवधिक निर्वाचन भन्ने कुरा छ । आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो । अहिले पनि कृत्रिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ । जनताले दिएको बहुमत कुनै पनि राजनीतिक दलले पुर्याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तनहरू गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म । ’