प्रहरीले मानसिक दबाब दिँदा ८ कक्षाका विद्यार्थीबाट आत्महत्या
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ पुष ८ सोमबार
1.2k
Shares
मुगु । मुगुको एक विद्यालयमा कक्षा ८ मा अध्यनरत एक विद्यार्थीले मानसिक दबाबमा पर्दा आत्महत्या गरेको आरोप लगाइएको छ । जिल्ला सदरमुकाम गमगढीस्थित महाकाली नमूना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छायाँनाथ रारा नगरपालिका वडा नं २ तलितुम गाउँका वर्ष १५ का सागर तिरुवालाई नेपाल प्रहरीले अनावश्यक दबाब दिँदा आत्महत्या गतेको युवाहरुले आरोप लगाएका हुन् ।
सागरले गत पुस ४ गते राति भाडामा बस्दै आएको मामाको घरमा पासो लगाइ आत्महत्या गरेका थिए । आइतबार साँझ मृतक सागरप्रति श्रद्दाञ्जली दिन आयोजित कार्यक्रममा युवा अगुवाहरु रविन मल्ल, जनक चौलागाई, राजेन्द्रकुमार शाही लगायतका युवा तथा सागरका आफन्तहरुले यस्तो आरोप लगाएका हुन् ।
श्रद्दाञ्जली कार्यक्रममा बोल्दै युवा अगुवा मल्लले भने, 'सागर भाइले आत्महत्या गरेका होइनन् बालकमाथि झूटो आरोप लगाइँदा मानसिक टर्चर सहन नसकेर आत्महत्या गरेकाले यो हत्या गरिएको हो ।'
उनले भने, 'सागरको न्यायका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ, प्रहरीले विद्यालय हाताबाट स्कुल ड्रेसमै काम छ भनी बजार हुँदै प्रहरी कार्यालयमा लिएपछि बाल मनोविज्ञानमा असर परेको र प्रहरी कार्यालयमा पनि प्रहरीले अनावश्यक दबाब दिँदा सागर आत्महत्या गर्न बाध्य भए । हामी प्रहरीको विरोधी होइनौँ तर प्रहरीकै दबाबले आत्महत्या गरिएकाले प्रहरीले सत्य,तथ्य र निस्पक्ष अनुसन्धान गरी जोसुकै होस् बालकलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिलाई कानूनी कारबाही गरोस् ।'
के थियो घटना
घटनाक्रम अनुसार सदरमुकाम गमगढीमा व्यापार गर्दै आएका एक व्यापारीको पसलबाट केही महिनाअघि चोरी भएको भनिएको जुत्ता लगाएर एक बालक बजारमा घुम्दै गरेको देखिएपछि ती व्यापारी बालकलाई बोलाएर सोधपुछ गर्छन् ।
बालकले आफू र सागर विकले ज्याकेट र जुत्ता साटासाट गरेको बताउँछन् । बालकलाई लिएर व्यापारी गमगढीस्थित कालिका मालिका अस्थायी प्रहरी बिटमा निवेदन दिन साथ पुग्छन् । प्रहरीले निवेदन अध्ययन र बालकलाई सोधपुछ पछि अर्का बालक सागर विकलाई सोधपुछ गर्न लिन श्री महाकाली नमूना माध्यमिक विद्यालयमा पुग्छ ।
विद्यालयमा कक्षा चलिरहेकाले प्रहरीले कक्षा ८ पढ्ने सागर विकसँग केही कुरामा सोधपुछ गर्नुछ पठाइ दिनुपर्यो भनेपछि विद्यालयका कर्मचारीले विद्यार्थी सागरलाई बोलाउँछन् र प्रहरीले बालक सागर विकलाई आफूसँग प्रहरी बिटमा लैजान्छ ।
बिटमा छलफल गर्दा नटुंगिएपछि दुवै बालकबारे निवेदन दिन र थप छलफल र कानूनी उपचारका लागि व्यापारी र दुवै बालकका आफन्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा जानुस् भनेपछि सबै जना जिल्ला प्रहरी कार्यालयमा जान्छन् ।
३ गते दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय पुगेका दुवै पक्षलाई छलफल गर्न र मिल्न भन्दै प्रहरीले कार्यालय परिसरको एक छेउँमा बसाल्छ । यसैबीच प्रहरीले सोधपुछ गर्न भन्दै बालक सागर विकलाई प्रहरी कार्यालयको एक कोठामा लग्छ । त्यहाँ सागरलाई सोधपुछपछि प्रहरीले समय धेरै बित्यो तपाईहरु मिल्नु भएन को दोषी छ हामी बजारका सीसी क्यामारा हेरौँ पुनः छलफल गर्न ५ गते बिहान १० बजे आउनु होला भन्दै दुवै पक्षलाई घर पठाउँछन् ।
आरोपी बालकलाई उनकी आमा पानमता विकको जिम्मामा प्रहरीले घर छोड्छ ।
जिप्रकाबाट घर आएपछि सागर टोलाउने, नबोल्ने, टाउकोमा हात राख्ने अँध्यारो अनुहारमा एकै ठाउँमा बसिरहने गर्दै आएका थिए । '४ गते बेलुका करिब ७ बजेतिर परिवारले खाना खाइसकेपछि सुत्न कोठामा गएको छोरा सागरले कोठामा पासो लगाएर आत्महत्या गरेछ', आमा पानमता विक भक्कानिँदै भन्छिन्, 'घरमा त हामीले केही गाली गलौज गरेका थिएनौँ ३ गते प्रहरीले स्कुल ड्रेसमै बजार हुँदै जिप्रका पुरायो । निर्दोष मान्छे लाज भयो मैले जुत्ता चोरेको होइन भन्दै थियो । सायद यही चिन्ताले भोलि छलफलमा फेरि जानु पर्ने लाज र डरले आत्महत्या गरेको हुनुपर्छ ।
के भन्छ प्रहरी ?
बालकले आत्महत्या गरेपछि अहिले मुगुमा कोही प्रहरीको दबाबले बालक मर्यो भन्छन् त कोहि व्यापारीले प्रहरीमा निवेदन दिँदा दबाबमा परेर बालक आत्महत्या गर्न बाध्य पार्यो भन्छ्न् त कोही विद्यालय हाताबाटै स्कुल ड्रेसमै प्रहरीले बालकलाई लिँदा बाल मनोविज्ञानमा नकारात्मक मानसिक प्रभाव पर्न जाँदा बालकले आत्महत्या गरेको चर्चा हुने गरेको छ ।
यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज गिरीसँग आइतबार पत्रकारहरुले बुझ्दा प्रहरीमाथि लागेका आरोप सबै निराधार,कपोलकल्पित भएको बताए ।
उनले मुगुमा पहिला निवेदन आउने कारबाहीको लागि प्रहरी खटिँदा बाटोमै दुवै पक्ष मिल्ने चलन रहेकोले आफूहरुले कारबाहीका लागि ठाडो निवेदन दिन आएका व्यापारी र आरोपित बालकका परिवारलाई सँगै बस्न लगाएर मिल्न लगाएको र नमिलेपछि ५ गते पुनः प्रहरी कार्यालयमा आउने गरी बालकलाई आमाको जिम्मामा पठाइएको बताए ।
जुत्ता लगाएको बालकले सागरसँग ज्याकेटमा साटेको बताएपछि सोधपुछका लागि सागरलाई प्रहरीले बोलाएको थियो । तर मानसिक र शारीरिक कुनै दबाब नदिएको प्रनाउ गिरी बताउँछन् ।
आमाले बुझिलिएपछि बालकमाथि घरपरिवारको दबाब र टर्चर अलि बढी नै पो भयो कि ? उल्टै उनी प्रश्न गर्छन् ।
'घटनाक्रम हेर्दा व्यापारीले निवेदन दिँदा प्रहरीको दबाब बालकमाथि बढेपछि बालकले आत्महत्या गरेको सरासर देखिन्छ । पोष्ट मार्टम रिपोर्ट र प्रहरी अनुसन्धान हेर्छौ रिपोर्ट के आउँछ त्यसैको आधारमा किटानी जाहेरीसहित कानूनी उपचारमा आफूहरु जान्छौँ', मृतक सागर विकका आफन्त प्रेम विश्वकर्मा भन्छन् ।
के भन्छन् व्यापारी
गमगढी बजारस्थित मिलनचोकमा फेन्सी कपडाको व्यापार गर्दै आएका एक व्यापारीले प्रहरीमा निवेदन दिँदा बालकमाथि दबाब पर्न गई बालकले आत्महत्या गर्न बाध्य पारिएको आरोप आफन्त तथा केही युवाहरुले लगाइरहेका छन् ।
योबारे व्यापारीसँग बुझ्दा आफ्नो ३१ हजार बराबरको माल सामान पसलबाट एक साताअघि चोरी भएपछि आफूले प्रहरीमा निवेदन दिएको र पुस २ गते एक जना बालक चोरी भएको जुत्ता लगाएर बजारमा डुलिरहेको अवस्थामा देखेपछि बालकसँग सोधपुछपछि आवश्यक छलफल र चोरी भएका अन्य सामानबारे अनुसन्धान गर्न प्रहरीलाई निवेदन साथ गुहारेको बताउँछन् ।
सागर विकलाई आफूले नचिनेको र जुत्ता लगाउने बालकले आफ्नो ज्याकेट सागरलाई दिएको र सागरले आफूलाई जुत्ता दिएको बताएपछि प्रहरीले सोधपुछ गर्न ३ गते सागरलाई बोलाई आफूसहित दुवै पक्षलाई छलफल गराएको थियो ।
सागरले जुत्ता आफ्ना दाजुको भएको बताएपछि हाल भारतमा रहेका उनका दाजुसँग आमा पानमता विकले फोन गरेर सोधेकी थिइन् ।
घरको जुत्ता आफ्नो नभएको र जुत्ताबारे आफू अनभिज्ञ भएको बताएपछि सागरले आफूलाई रिस डाहा मान्ने कसैले जुत्ता आफ्नो घरभित्र टेबुलमा राखेको हुन सक्ने शंका गरेको बताएको ती व्यापारीले जानकारी दिए ।
उनी भन्छन्, 'पसलको सामान चोरी भयो । चोरी भएको सामान लगाएर कोही बजारमा घुमिरहेको देखेपछि मैले प्रहरीमा निवेदन दिनु गैरकानूनी काम गरेँ र ? प्रहरीलाई निवेदन नदिइ कहाँ दिनु पर्ने हो र ? मैले कोही सैलाई धम्की दबाब दिएको छैन । मात्र कानूनी न्याय र छलफल गराइ पाउ भनी प्रहरीमा निवेदन दिएको हु । उसो भए अब कोहि व्यापारी वा सर्वसाधरणको घर पसल चोरी भए प्रहरीमा जानकारी वा निवेदन नदिने हो त ?'