काठमाडौँ । अन्तिम समयमा आएर संसदको अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।
आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भएपछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।
बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइए पनि कोरम नपुगेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।