राज्य सञ्चालकमा केही सकारात्मक प्रभाव, सर्दीजन्य रोगले सताउने, १२ राशिकै आ–आफ्नो गोचर
शेयरमा मन्दी छाउने, पुस ११ देखि २१ गतेसम्म मध्य मन्दझरी पर्ने, हिमपात र शीतलहरले जनजीवन प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
773
Shares
काठमाडौँ । क२०८१ पुस महिनामा जागतिक परिस्थिति सामान्यतया सन्तोषजन रहनेछ । सोमबारको सूर्य संक्रमण भएकाले दक्षिण दिशाबाट हावा बहने छ । बिहीबारको औंशीका कारण केही मिश्रित फल मिल्ने महिना रहनेछ ।
मूलका सूर्यले सुन, चाँदी, मणि माणिक्य, सुगन्धित तेल, रुई सुतीवस्त्र आदिको मूल्य घट्न सक्ने ग्रहगोचर रहेको छ । मद्राविनिमयमा घटबढीले वैदेशिक व्यापार र विप्रेषणमा केही असर पुर्याउनेछ । शेयर बजारमा मन्दी छाउनेछ । राज्य सञ्चालकमा केही सकारात्मक प्रभाव देखिनेछ, जसका कारणले केही सहजता हुनेछ ।
खाद्यान्न, सागसब्जी र खाद्यतेलको मूल्यमा केही कमी आउनेछ । हिमपात र शीतलहरले जनजीवन प्रभावित हुन सक्नेछ । पुस ११ देखि २१ गतेसम्म मध्य मन्दझरी हुने देखिन्छ । यो महिनामा सूर्य आराधनाको विशेष महत्व रहेको छ ।
रातोवस्त्र, रक्तचन्दन, तीन्नी (निवार), गूँड, कपास, दूध, सख्खर आदिको दान गर्नु उचित हुनेछ । पश्चिमी वायुको प्रभावले दक्षिणी भेगमा शीत लहर र वर्षाले जनजीवन कष्टकर बनाउन सक्नेछ । रुघाखोकी, ज्वरो आदि सर्दीजन्य रोगले जनजीवनमा कष्ट पुर्याउनेछ ।
मासिक राशिफल मेषः पुस महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले नवौं भावमा, राशिस्वामी मंगलले बाह्रौं भावमा, बृहस्पति र शनिश्चरले दसौं भावमा, शुक्र र केतुले आठौं भावमा र राहुले दोस्रो भावमा उपस्थिति जनाएको छ । राशिस्वामी मंगल तपाईंको आफ्नै राशिमा आइपुग्नेछन् भने बुधले दशम भावमा र शुक्रले नवौं भावको यात्रा प्रारम्भ गर्नेछन् ।
सूर्यदेव, बुध र चन्द्रमा भाग्यभावमा रहेको अवसरमा यस महिनाको प्रारम्भ भएको छ, यसको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्ति सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल हुनेछ । यात्राबाट निश्चित लाभ प्राप्त हुनेछ । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो ।
शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । तपाईंको राशिस्वामी मङ्गल ग्रह हो । यस महिनामा राशिस्वामीले बाह्रौं र पहिलो घरको यात्रा गर्ने समय छ । त्यसैले महिनाको पूर्वार्द्धका तुलनामा उत्तराद्र्धमा शुभफल मिल्नेछ । प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्ने हुन्छ, यस अवधिमा स्वाभिमान र घमण्डका कारण केही समस्या सिर्जना हुन सक्छन्, संयम र सचेत हुनुहोला । त्यसपछि उच्च पदमा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ ।
धनार्जनका दृष्टिले राम्रै समय हुनेछ । दोस्रो घरमा बसेको राहुले अपव्यय र व्यर्थ कलहको योग हुन्छ, त्यसैले खर्चबर्चमा सन्तुलन ल्याउने कोसिस गर्नुहोला, विवाद र झैझगडाबाट टाढा रहने प्रयास गर्नुहोला । अष्टम भावको शुक्रका कारण महिनाको पूर्वार्द्धमा जीवनसाथीको स्वास्थ्य वा कार्यक्षेत्रमा नकारात्मक असर पर्नसक्छ । कर्मक्षेत्रमा रहेका शनि र बृहस्पतिको प्रभावले काममा लगनशीलता बढ्ने छ, अनि अष्टम केतुले हरेक कुरामा हडबड र उत्ताउलोपन त्याग्ने सल्लाह दिएको देखिन्छ ।
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ । आलस्य र अस्वस्थताले समयमा काम गर्न नसकिए पनि लाभांश प्राप्त भइरहनेछ । लगनशील स्वभावले पनि उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । पुरानो काम बीचैमा रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पहिलेको वादविवाद समेत सम्झौतामा टुंगिनेछ । अध्ययनमा समय दिन नसकिए पनि कर्मयोगले उचाइको बाटो समाउनेछ । भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ । प्रतिफल समयमा नउठाउँदा केही समस्या भने आइपर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । ग्रहजन्य अनिष्ट प्रभावको नाश होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी मंगल ग्रहको बीजमन्त्रको दैनिक रूपमा जाप गर्नु वा श्री गणेश वा श्री हनुमान् को उपासना गर्नु मुनासिब हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गतेको चन्द्रमा तपाईंका लागि अशुभ रहने छन् ।
वृषः पुस महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले आठौं भावमा, मंगलले एघारौं भावमा, बृहस्पति र शनिश्चरले नवौं भावमा, राशिस्वामी शुक्रका साथमा केतुले सप्तम भावमा र राहुले तपाईंको आफ्नै राशिमा उपस्थिति जनाएको छ । मंगल ग्रह बाह्रौं भावमा र बुधले नवौं भावमा प्रवेश गर्नेछन् भने राशिस्वामी शुक्रले अष्टम भावको यात्रा प्रारम्भ गर्नेछन् ।
यो महिनाको प्रारम्भ सूर्यलगायत बुधसमेत अष्टम भावमा रहेको समय छ भने महिनाको उत्तरार्द्धमा राशिस्वामी शुक्रले समेत यसै भावको यात्रा गर्नेछ, सामान्यतया आठौं घरलाई संकट र दुर्घटनाको घर मान्ने गरिन्छ । अतः यस महिनाभरि खासगरी सवारी हाँक्दा, बाटो काट्दा, आगो र विषालु वस्तुको उपयोग गर्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । याद गर्नुहोला यो महिना हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो, त्यसैले कुनै नगरी नहुने काम छ भने लगन र निष्ठाका साथमा खटेको जाति हुन्छ, त्यस्तै कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनु ठिक हुन्छ ।
घरायसी वातावरण पनि तनावपूर्ण रहनेछ । परिवारका सदस्यसँग मतभेद हुनसक्छ । यस अवधिमा राशिस्वामी शुक्रलेसातौं भावको र त्यसपछि अष्टम भावको यात्रा गर्ने देखिन्छ, त्यसैले तुलनात्मक रूपमा यस महिनाको पूर्वार्द्ध केही हदमा सकारात्मक र त्यसपछि झन् कमजोर समय बन्नेछ । राशिस्वामी शुक्रको बल प्राप्त हुनाले अचानक लाभप्राप्त हुने सम्भावना छ । अचल सम्पत्ति समेत प्राप्त हुनसक्छ । मन धार्मिक क्रियाकलापतर्फ आकर्षित हुनेछ । कुनै अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ । पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । आकस्मिक भ्रमणबाट सफलता मिल्नेछ । तर त्यसपछि प्रतिकूल फल प्राप्त हुनेछ ।
शिरमा बसेको राहुको प्रभावले पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । सप्तम भावको केतुका कारण पार्टनर वा व्यापारिक साझेदारसँग मनमुटाव हुनसक्छ तर भाग्यमा बसेका बृहस्पति र शनि तथा लाभ भावमा बसेको मंगल ग्रहले शुभफल प्रदान गर्नेछन् ।
प्रेमीप्रेमिका वा जीवनसाथीको व्यक्तिगत उन्नतिको खबर सुनेर प्रसन्न हुन सकिन्छ । महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले परिस्थितिजन्य समस्या आइरहनेछन्। साथ दिने कम हुनेछन् भने आफ्ना कमजोरीको फाइदा उठाउने सक्रिय रहनेछन्। स्वास्थ्य र आम्दानीका दृष्टिले महिना कमजोर रहनेछ । सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले अवसर गुम्न सक्छ । चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले साधन प्रयोगमा र जोखिम हुने काममा सावधानी अपनाउनुहोला । महिनाको उत्तरार्धमा रोकिएका काम बन्ने, व्यापार बढ्ने र आर्थिक पक्ष सबल बन्ने सम्भावना देखिन्छ ।
यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो महिना ग्रहजन्य अशुभताको निवारण होस् र कुनै पनि अनिष्ट फल प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले शिरमा बसेको राहु ग्रहको शान्ति गरिदिनु र उसको प्रसन्नताका लागि हरेक शनिवार भिखारीलाई भोजन गराउनु राम्रो हुन्छ । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ दिन रहने छन् ।
मिथुनः पुस महिना शुरु हुँदा तपाईंको राशिबाट सूर्य, राशिस्वामी बुध र चन्द्रमाले सप्तम भावमा, मंगलले दशम भावमा, बृहस्पति र शनिश्चरले अष्टम भावमा, शुक्र र केतुले षष्ठ भावमा र राहुले बाह्रौं भावमा उपस्थिति जनाएको छ । मंगल ग्रहले राज्यस्थानको यात्रा सुरु गर्नेछ, साथै राशिस्वामी बुधले अष्टम भावको यात्रा गर्ने संकेत छ । त्यस्तै पञ्चमेश शुक्रले सप्तम भावको यात्रा प्रारम्भ गर्नेछन् । सातौं घर साझेदारी र दाम्पत्य जीवनसँग सम्बन्धित घर हो, यो महिना यसै भावमा तपाईंको राशिस्वामी बुधका साथमा सूर्यले भ्रमण गर्ने परिस्थिति छ । यसको प्रभावले मित्र र सहयोगीबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकांक्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । आय आर्जनका मार्गमा बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तु खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । गीतसङ्गीत एवं अन्य ललितकलाका विषयमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुमा झुकाव बढ्ने छ । व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ ।
अविवाहितले नयाँ सम्बन्धको प्रोपोजल पाउन सक्नुहुन्छ । तर सप्तम भावमा बसेको सूर्यका केही नकारात्मक फल पनि हुने गर्दछन्, त्यसैले यस अवधिमा तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टि हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, अतः व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वान् र विशिष्ट व्यक्तिका साथमा घुलमिल हुने मौका आउने छ । बन्दव्यापारमा बढावा हुनेछ । विपरीत लिङ्गीबाट सहायता मिल्नेछ । सुखद् यात्रा हुने सङ्केत पनि छ ।
तर त्यसपछि चाहिंँदा नचाहिंँदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । छैटौं भावमा बसेको शुक्र र केतुको युतिले विद्यार्थी लक्ष्यप्रति अचेत बन्न सक्छन् । किशोरकिशोरीमा झगडालु बानी र चिडचिडेपन बढ्नेछ । आठौं भावको बृहस्पति र शनिले वैदेशिक क्षेत्रमा राम्रो फल प्रदान गर्नेछ, तर कर्मक्षेत्रमा बसेको मंगलले कर्मचारी र कामदारलाई झमेला वा मुद्दामामिलामा फँसाउने डर रहेको छ । बाह्रौं राहुले अपव्यय र परदेशको यात्राको योग प्रदान गर्दछ ।
केही उतारचढाव देखिए पनि यस महिनामा विशेष काम शुभारम्भ हुनेछ। नयाँ अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । मित्रताको बन्धन अझ प्रगाढ हुनेछ भने प्रेमसम्बन्ध वैवाहिक मार्गतर्फ अघि बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ । तर, वादविवादले यदाकदा मनमा अशान्ति र काममा प्रतिकूलता निम्त्याउन सक्छ । घरको समस्याले व्यावसायिक काममा विलम्ब हुन सक्छ । यात्रा, भोगविलास र भेटघाटले खर्चका साथै केही समस्या समेत निम्त्याउन सक्छ । अवसर आए पनि परिस्थितिवश उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला ।
यो महिनाका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हल्का गुलाबी वा घ्यू रङ्ग हो । साथै यो महिना देखिएका ग्रहजन्य कमजोरी हटाउनका लागि तपाईंले आफ्नो परिवारको परम्पराअनुसार कुल वा पितृको उद्देश्यले कुनै कर्म गर्नु राम्रो हुन्छ अथवा कुनै अनाथालय वा बृद्धाश्रममा गई भोजनादि प्रदान गरेमा पनि शुभफल प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । तपाईंका लागि यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गतेको चन्द्रमा अनिष्ट देखिन्छ, ।
कर्कटः पुसको संक्रान्तिका दिन तपाईंको राशिबाट सूर्य, बुध र राशिस्वामी चन्द्रमाले छैंटौं भावमा, मंगलले भाग्य स्थानमा, बृहस्पति र शनिश्चरले सप्तम भावमा, शुक्र र केतुले पाँचौं घरमा र राहुले एघारौं भावमा उपस्थिति जनाएको छ । मंगल ग्रहले कर्मक्षेत्रको भ्रमण थाल्नेछन् । त्यस्तै बुधले सप्तम भावको र शुक्रले छैंटौं भावको यात्रा गर्ने संकेत छ । राशिस्वामी चन्द्रमाका साथमा सूर्य र बुध ग्रहले छैटौं भाव अर्थात् शत्रु र रोगभावको यात्रा गरको देखिन्छ । यस भावमा सूर्यको गोचर हुनुबाट मनमा उत्साह र उमंग पलाउने समय रहने छ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । चन्द्रमा र बुधले भने रोग र चिन्ता बृद्धि गर्नेछन् । समग्रतामा पौष महिना कार्यक्षेत्र वा बन्दव्यापारको क्षेत्रमा कडा परिश्रम गर्ने समय हो । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्वपूर्ण व्यक्तिसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन्, कुरा काट्ने आफैं चुप लाग्नेछन् । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ ।
त्यस्तै सूर्यले बाह्रौं भावमा पूर्णदृष्टि राख्ने हुँदा यो खर्च बढ्ने समय पनि हो । पाँचौं भावमा बसेका शुक्र र केतुको प्रभावले विद्यार्थीमा खेलवाडमा रुचि बढ्ने तथा अकर्मण्यता बढ्ने समय छ । किशोर र युवा वयका व्यक्ति प्रेम र भावनामा आघात पुग्नाले चिन्तित बन्न सक्छन् । सातौं भावमा रहेका बृहस्पति र शनिश्चरको प्रभावले दाम्पत्य जीवन सुख र आनन्दले युक्त हुनेछ । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् ।
भाग्य भाव र कर्मक्षेत्रमा रहने मंगलको प्रभाव पनि सकारात्मक रहने छ, कर्मचारी र कामदारले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय हो । एघारौं भावको राहुले पनि शुभफल नै प्रदान गर्नेछ । प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल गर्दै विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन् । पहिलेका प्रतिस्पर्धी समेत सहयोगी बन्नेछन् । चुनौती स्वतः हट्नेछन् । नयाँ उद्योग वा व्यवसाय प्रारम्भ गर्ने समय छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधन जुटाउन सकिनेछ ।
आँट र लगनशीलताले सफलता प्राप्त हुनेछ । समाजका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ । धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ । व्यापार–व्यवसायमा पनि राम्रो फाइदा उठाउन सकिनेछ । सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला । यो महिनाका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गतेका दिन तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने दिन हो । यो महिना ग्रहजन्य अनिष्ट नहोस् भन्ने उद्देश्यले तपाईंले शिवोपासना गर्नु वा नागदेवताको पूजाआजा गरेको राम्रो हुन्छ ।
सिंहः पुस महिनाको संक्रान्तिका दिन तपाईंको राशिबाट राशिस्वामी सूर्यका साथमा बुध र चन्द्रमाले पञ्चम भावमा, मंगलले अष्टम भावमा, बृहस्पति र शनिश्चरले छैंटौं घरमा, शुक्र र केतुले चतुर्थ भावमा र राहुले दशम भावमा उपस्थिति जनाएको देखिन्छ । मंगल ग्रहले भाग्यस्थानको, बुधले शत्रु भावको र शुक्रले पञ्चम भावको यात्रा प्रारम्भ गर्नेछन् । सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा राशिस्वामी सूर्यका साथमा बुध ग्रहको समेत भ्रमण हुने महिना प्रारम्भ भएको छ । अब तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।
विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रूपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । पारिवारिक जीवन अति सुखद रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । पुराना साथीभाइ र सहयोगीसँग भेटघाट हुनेछ । सञ्चारको माध्यमबाट कुनै राम्रो खबर प्राप्त हुन सक्छ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ ।
प्रेम र प्रणयप्रसंगका लागि यो त्यत्ति राम्रो समय देखिंदैन । बरु ध्यान, कसरत, योग र अध्यात्मका क्षेत्रमा शान्तिको अनुभूति हुने समय हो । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । चौथो भावमा बसेका केतु र शुक्रको प्रभावले घरायसी खर्चमा सन्तुलनमा ल्याउन निकै प्रयास गर्ने समय छ । कुनै कार्यविशेषले ऋण भारसमेत बढ्न सक्छ ।
यस्तै, छैटौं भावको बृहस्पति र शनिश्चरको प्रभावले मुद्दामामिलामा विजय प्राप्त हुनेछ । पाचनतन्त्री र गुदासम्बन्धी रोगले दुःख दिन सक्छ, तर पनि यो महिना आमरूपमा स्वस्थ रहने समय हो । अवसर आए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला । खर्च बढ्ने र आम्दानी रोकिने हुँदा उत्साहमा कमी आउनेछ । स्वास्थ्य कमजोर बन्नाले आलस्य बढ्नेछ । खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला । परिश्रम गर्नेलाई सम्भावनाका बाटा प्रशस्त फेला पर्नेछन् । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ ।
परोपकारी कामले सामाजिक प्रतिष्ठा पनि दिलाउनेछ । सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला । आफ्नो समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन् । सन्तानका माध्यमबाट काम बन्नेछ । ग्रहजन्य कुनै पनि दुष्ट प्रभावको आफ्नो शरीरमा कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले तपाईंले यो महिना राशिस्वामी सूर्यको उपासना गर्नु वाञ्छनीय हुनेछ, त्यस्तै हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा ओछ्यानमा ढल्किनु, पल्टिनु वा निदाउनु पनि हानिकारक बन्नसक्छ भन्ने कुराको ख्याल राख्नुपर्छ ।
यो महिनाका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।कर्मक्षेत्रको राहुले वैदेशिक प्रयोजनका कामबाट फाइदा लिने समय हो । चन्द्रगोचरको विश्लेषण गर्दा यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् ।
कन्याः पुस संक्रान्तिका दिन तपाईंको राशिबाट राशिस्वामी बुधका साथमा सूर्य र चन्द्रमाले चतुर्थ भावमा, मंगलले सातौं भावमा, बृहस्पति र शनिश्चरले पाँचौं घरमा, शुक्र र केतुले तृतीय भावमा र राहुले भाग्यस्थानमा उपस्थिति जनाएको महिना हो पौष महिना । मंगल ग्रहले अष्टम भावको राशि स्वामी बुधले पञ्चम भावको र शुक्रले चतुर्थ भावको भावको यात्रा प्रारम्भ गर्नेछन् । तपाईंको राशिबाट चौथो घर अर्थात् मातृसुख, वाहनसुख प्रदान गर्ने भावमा राशिस्वामी बुधका साथमा सूर्यको गोचर प्रारम्भ भएको छ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा बसेको क्रूर ग्रहको मानसिक उलझन बल्झाउने परिणाम प्राप्त हुने गर्दछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन्छ, खासगरी पिता वा कार्यक्षेत्रका सिनियर्ससित मनमुटाव र तिक्तता बढाउने समय हो । हृदय र पेटसम्बन्धी स्वास्थ्य समस्या आइलाग्ने समय पनि हो । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ ।
यस्तै तपाईंको राशिस्वामि बुध ग्रहले चतुर्थ भावको र त्यसपछि पञ्चम भावको यात्रा गर्नेछ, यसको प्रभावले अहिले घरको सुख र आनन्दप्रति झुकाव बढ्ने समय हो । मन भावुक बन्ने समय हो । यदाकदा बाल्यावस्था वा अतीतका गतिविधिमा भुलिन सक्नुहुन्छ । यस अवधिमा घरभित्रको साजसज्जामा आकर्षित बन्न सक्नुहुन्छ । पुराना कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने समय पनि हो । तेस्रो भावमा बसेका शुक्र र केतुको प्रभावले सामाजिक हैसियत र प्रतिष्ठामा अभिबृद्धि हुनेछ । पाँचौं भावमा पञ्चमेश शनिश्चरका साथमा बृहस्पति रहेकाले विद्यार्थीका लागि यो महिना अत्यन्त ऊर्जावान् र फलदायी प्रमाणित हुनेछ । गृहस्थीले सन्तानप्रति आशावादी बन्ने समय हो । सप्तम भावमा महिनाको पूवाद्र्धमा मंगल ग्रहको उपस्थिति रहने भएकाले पतिपत्नीका बीचमा नोकझोक र बाझाबाझको परिस्थिति खडा हुनसक्छ, त्यसैले आफूलाई संयम राख्ने प्रयास गर्नुहोला । त्यस्तै हिजोआज भाग्यभावमा बसेका राहु ग्रहले तपाईंलाई शुभफल नै प्रदान गर्नेछन् ।
यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन् । साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ । सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । उच्च महत्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ । घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ । असंयम व्यवहारले निकटजन टाढिन सक्छन् । आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ । उच्च रक्तचापले पनि सताउन सक्छ । तर, सद्विचारले प्रेरित हुनेलाई शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ । परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ । नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्दा राम्रो हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क १, ६ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायण भगवानको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ । ग्रहको कुनै किसिमको अनिष्टता नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा दुर्गा कवचको पाठ गर्ने वा हरेक बुधबार वा शनिवारको दिन पारेर मातृशक्तिको कुनै मन्दिरमा गएर दर्शन गर्ने र श्रृंगारका सामाग्री दान गरेको जाति हुन्छ । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।
तुलाः यस महिनाको १ गतेका दिन तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले तृतीय भावमा, मंगलले छैंटौं भावमा, बृहस्पति र शनिश्चरले चतुर्थ भावमा, शुक्र र केतुले दोस्रो घरमा र राहुले अष्टम भावमा उपस्थिति जनाएको देखिन्छ । यस क्रममा मंगल ग्रहले सातौं भावको, बुधले चतुर्थ भावको र राशिस्वामी शुक्रले तृतीय भावको यात्रा प्रारम्भ गर्नेछन् । तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नति प्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । तर भाइबहिनीसँग मनमुटाव हुनसक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परकाले सहयोग गर्ने तर आफन्तले पछाडि बसेर आलोचना गर्ने परिस्थिति हुनसक्छ । त्यसैले नजिकका आफन्त, नोकरचाकर र अनुयायी वा शिष्यदेखि सतर्क रहने समय हो । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
यो महिना तपाईंको राशिस्वामी शुक्रले दोस्रो र तेस्रो भावको भ्रमण गर्नेछ । त्यसैले समग्रतामा यो धनप्राप्तिको समय हो । कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । प्रेम सम्बन्धमा सानातिना विवाद र झैझगडाको योग हुन्छ, तर तपाईंको बोलीमा मिठास र चिप्लोपन देखिन सक्छ । आम्दानीका मार्ग बढ्ने छन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ । परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ ।
घरायसी नातागोताका व्यक्तिको जमघट हुनेछ । यसरी यिनै फलको मिश्रित परिणाम प्राप्त गर्न सकिने अहिलेको समय हो । दोस्रो भावमा बसेको शुक्र र केतुले मुख छुच्चो बनाउने छ, बोलीमा संयमता राख्नुहोला । त्यस्तै चेलीबेटी र कुटुम्ब असन्तुष्ट रहने छन् । चौथो भावमा बृहस्पति र शनिको उपस्थिति भएकाले पारम्परिक वा मांगलिक कर्मका लागि खर्च बढाउनु पर्ने परिस्थिति देखिन्छ । कर्जा वा ऋणभारका कारण चिन्तित रहनु पर्ने समय छ । छैटौं भावको मंगलले शुभ परिणाम प्रदान गर्नेछ, तर आठौं भावमा बसेको राहुका कारण नसा र जोर्नीसम्बन्धी रोगव्याधिले सताउने लक्षण छ । पौष महिना निकै लाभदायक रहनेछ । तारिफयोग्य कामले पद–प्रतिष्ठा दिलाउनेछ ।
नोकरीमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना छ । उद्योगधन्दा फस्टाउनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । व्यापार तथा उद्योग–धन्दामा विशेष सफलता पाइनेछ । नोकरी तथा राजनीति गर्नेलाई विशेष लाभ मिल्नेछ । उद्योग–धन्दामा पनि सफलता प्राप्त हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ । दाजुभाइबीच आत्मीयता बढ्नेछ । प्रतिष्ठित व्यक्ति सहयोगीका रूपमा देखा पर्नेछन् । बीचमा अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन् ।
यो महिनाका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यस महिना कुनै पनि अशुभ फल नपाइयोस् भन्ने उद्देश्यले अष्टम भावमा बसेको राहुको प्रियताका निमित्त दिनैपिच्छे नाग गायत्री मन्त्र (ॐ नवकुलाय विद्महे विषदन्ताय धिमहि तन्नो सर्प प्रचोदयात) को नौ आवृत्ति जाप गर्नुपर्दछ अथवा प्रत्येक शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दानसामाग्री जम्मा पारेर जोगीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गर्नुपर्छ । सामान्यतया यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गते तपाईंका लागि अशुभ रहने छन् ।
वृश्चिकः पुस महिना प्रारम्भमा तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले दोस्रो भावमा, राशिस्वामी मंगलले पञ्चम भावमा, बृहस्पति र शनिश्चरले तृतीय भावमा, शुक्र र केतुले तपाईंको आफ्नै राशिमा र राहुले सप्तम भावमा उपस्थिति जनाएको देखिन्छ । यस क्रममा राशिस्वामी मंगल ग्रहले छैंटौं घर अर्थात् शत्रुस्थानको यात्रा प्रारम्भ गर्नेछ । त्यस्तै राशिपरिवर्तन गरी तृतीय र शुक्रले दोस्रो घरको यात्रा प्रारम्भ गर्नेछन् । तपाईंको राशिबाट सूर्य, बुध र चन्द्रमाले दोस्रो भावमा भ्रमण गरेको वेलामा यस पौष महिनाको सुरुवात हुनेछ । अतः यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । परिवारमा नयाँ सदस्य वा अतिथिको आगमन हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । सामान्यतया सबै किसिमका सुखभोग प्राप्त हुनेछ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, जस्तै, दोस्रो भाव भनेको मुख पनि हो । बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, अतः प्रकृतिमा अलि कडापन र कठोरता देखापर्न सक्छ । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना हुन्छ, सचेत हुनुपर्छ ।
तपाईंको राशिस्वामी मङ्गल ग्रहले यस महिना पाँचौं र छैटौं भावको यात्रा गर्नेछन् । यस अवधिमा विद्यार्थीले योग्यता र सीपको भरपूर प्रयोग गर्ने समय हो । गृहस्थीले सन्तानका क्रियाकलाप र उन्नतिप्रगति देखेर दंग पर्ने समय हो । गीत, संगीत, चलचित्र वा भुलिने खेल वा गेमप्रति झुकाव बढ्ने समय पनि हो । व्यक्तित्व आकर्षक हुनाका साथै स्वभावमा मिलनसार बन्नुहुनेछ । आफ्नै राशिमा सप्तमेश शुक्र र केतुको उपस्थिति देखिन्छ । यो आफैंमा हराउने र कल्पना वा सपनामा भुलिने समय हुनेछ । यस अवधिमा कुनै झैझगडा वा विवादमा फंस्ने सम्भावनासमेत हुनसक्छ । तृतीय भावमा बसेका बृहस्पति र शनिदेवले राम्रो फल प्रदान गर्नेछन् ।
सामाजिक साख कायम गर्न सकिने छ । त्यस्तै पञ्चम भावमा बसेको राशिस्वामी मंगलको प्रभावले बौद्धिक र सिर्जनात्मक क्षेत्रका व्यक्तिलाई शुभफल प्रदान गर्नेछ । तर सप्तम भावमा बसेको राहुले जीवनसाथी वा प्रेमीसितको सम्बन्धमा नकारात्मक फल प्रदान गर्नेछ । केही व्यावहारिक उल्झन देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ । हिम्मतले सफलता दिलाउनेछ । शुभचिन्तकको साथ–सहयोग जुट्नेछ । आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । धन तथा बहुमूल्य धातु संग्रह गर्ने समय छ । अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ । लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ । यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ । यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँतसम्बन्धी समस्या देखापर्न सक्छ । सर्दी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला ।
यो महिनाका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यो महिना कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा हनुमान् चालिसाको पाठ गर्ने वा मंगल ग्रहको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
धनुः सङ्क्रान्तिको समयमा तपाईंको आफ्नै राशिमा सूर्य, बुध र चन्द्रमाको उपस्थिति रहनेछ, त्यसबाहेक मंगल ग्रह चतुर्थ भावमा, राशिस्वामी बृहस्पति शनिश्चरका साथमा दोस्रो भावमा, शुक्र र केतु बाह्रौं भावमा तथा षष्ठ भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा मंगल ग्रहले पाँचौं भावमा, बुधले दोस्रो भावमा र शुक्रले तपाईंको आफ्नै राशिमा प्रवेश गर्नेछन् । तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । यस राशि परिवर्तनको प्रभावले तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसर प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ ।
तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । यो समय अल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो । त्यसैले लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईंको हात चुम्नेछिन् । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ ।
स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । हिजोआज राशिस्वामी बृहस्पतिको दोस्रो भावमा उपस्थिति छ, त्यसैले यो धनधान्य बृद्धि गर्ने महिना हो भन्दा फरक पर्दैन । यसै भावमा बसेको शनिश्चरको प्रभावले कहिलेकाहीं सांसारिक सुखसुविधा भोग गर्न र मौजमस्तीमा धनखर्च गर्ने परिस्थिति पनि बन्नसक्छ । जे जस्तो भए पनि यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । कला, कविता र साहित्यमा रूचि बढ्ने छ ।
आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । चतुर्थ भावमा पञ्चमेश मंगलको उपस्थिति रहेको छ, यसको प्रभावले विद्यार्थीले राम्रो प्रतिभा प्रदर्शन गर्न सक्नेछन्, बौद्धिक क्रियाकलापलाई माध्यम बनाएर विदेश जान चाहनेका लागि उत्तम समय रहने छ । छैंटौं भावमा बसेका राहुले पनि शुभ फल नै प्रदान गर्नेछ भने बाह्रौं भावको शुक्र र केतुले खर्चको मात्रामा ह्वात्तै बृद्धि गर्न सक्छ सचेतता अपनाउनु राम्रो हुनेछ । उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन् । वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले पनि सताउन सक्छ । अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ । महिनाको उत्तरार्धमा परिस्थिति अनुकूल बन्नाले जीवनशैलीमा परिवर्तन आउनेछ । आफ्नो क्षेत्र, वर्ग र समाजलाई नेतृत्व प्रदान गर्न सकिनेछ । पहिलेका आलोचक र प्रतिद्वन्द्वी नै कर्मयोगका प्रेरक बन्नेछन् । मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ । बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुर्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।
यो महिनाका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ । अनुकूलता मिलेन भने घरपरिवारका वयोबृद्ध सदस्यलाई घरैमा जम्मा गराई गुलियो भोजन गराउने र न्यानो कपडा (ऊनले बनेको) दान गरेमा शुभ परिणाममा अझ बृद्धि हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गतेको चन्द्रगोचर तपाईंका लागि अशुभ रहने छ । तपाईंले यो महिना राशिस्वामी बृहस्पतिको बीज मन्त्रको नित्यप्रति जाप गर्नु राम्रो हुनेछ ।
मकरः पुस महिनाको पहिलो दिन तपाईंको राशिबाट बाह्रौं घरमा सूर्य, बुध र चन्द्रमा, तेस्रो घरमा मंगल ग्रह, तपाईंको आफ्नै राशिमा बृहस्पतिका साथमा राशिस्वामी शनिदेव, एघारौं भावमा शुक्र र केतु तथा पाँचौं घरमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा मंगल ग्रहले चतुर्थ भावमा, बुधले तपाईंकै राशिमा र शुक्रले बाह्रौं घरमा प्रवेश गर्नेछन् । राशिस्वामी शनिश्चर र बृहस्पति तपाईंको आफ्नै राशिमा बसेर राजयोगको सिर्जना गरेको परिस्थिति छ । त्यस्तै यो महिना बुध र सूर्यले राशिबाट बाह्रौं भावमा विचरण गर्ने समय हो । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेले प्रतिष्ठा र साख कमाउन सक्ने, उन्नति प्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । विद्यार्थीले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुमाथि प्रभुत्व जमाउने समय पनि हो । याद गर्नुहोला, बाह्रौं भाव खर्चको घर हो । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक संकटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा छ । हिजोआज तपाईंको आफ्नै राशिमा राशिस्वामी शनिश्चर र बृहस्पतिको उपस्थिति देखिन्छ । यसको प्रभावले यस अवधिमा मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्ने छ । आम्दानीका मार्ग बढ्ने छन् र उच्च पदमा आसीन राजनैतिक प्रशासनिक पदका व्यक्तित्वसँगको सम्बन्धमा सुधार आउने छ ।
योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । तेस्रो भावमा बसेको मंगल ग्रहले सामाजिकता र पराक्रममा सघाउ पुर्याउने छ । पञ्चम भावको राहुका कारणले छोराछोरीको चिन्ता बढाउने छ, तर प्रायोगिक विषयका विद्यार्थीले यस अवधिमा राम्रो उपलब्धी हासिल गर्न सक्नेछन् । एघारौं भावमा बसेका शुक्र र केतुले पनि शुभफल नै प्रदान गर्नेछन् । यो महिना सहयोगी हात बढ्नेछन् र मित्रशक्तिबाट लाभ हुनेछ । खर्चिलो परिस्थिति आउनाले महिनाभरि अर्थअभाव देखापर्नेछ । परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ । लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ । व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च पनि बढ्नेछ । महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ । प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकलाई साथमा लिएर अघि बढ्नुहोला । ठूलो आशा देखाउनेले झुक्याउन सक्छन् । वादविवाद, मुद्दा र प्रतिस्पर्धामा प्रतिद्वन्द्वी हावी हुने समय छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला । चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला । लगनशीलताले आंशिक सफलता भने दिलाउन सक्छ ।
यो महिनाका लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग हल्का पहेँलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । अझ शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले राशिस्वामी शनिश्चरको बीजमन्त्र वा महामृत्युञ्जय मन्त्रको दैनिक रूपमा जाप गर्नु कल्याणकारी हुने देखिन्छ । सामान्यतया यस महिनाको १, ९, १०, ११, १८, १९, २०, २७, २८ र २९ गते तपाईंका लागि असामान्य दिन हुन सक्छन् ।
कुम्भः पुस महिनाको संक्रान्तिका दिन तपाईंको राशिबाट एघारौं भावमा अर्थात् लाभ स्थानमा सूर्य, बुध र चन्द्रमा, दोस्रो घरमा मंगल ग्रह, बाह्रौं घर अर्थात् व्यय भावमा बृहस्पतिका साथमा राशिस्वामी शनिदेव, कर्मक्षेत्रमा शुक्र र केतु तथा चतुर्थ भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा मंगल ग्रहले तृतीय भावमा, बुधले बाह्रौं भावमा र १९ गते शुक्रले एघारौं घरमा प्रवेश गर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ किनभने यो महिना राज्यस्थान अर्थात् एघारौं भावमा सूर्य र बुधको उपस्थिति रहने छ । राशिस्वामी शनिदेवको बाह्रौं भावमा उपस्थिति भए पनि बृहस्पति समेत त्यसै भावमा बसेकाले उक्त कारणले पनि अहिले समय उपयोगी नै ठहरिने छ ।
यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिससँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । नातागोताका सदस्यबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबार सफल हुनेछन् । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । दोस्रो भावमा मंगल ग्रहको उपस्थिति रहेकाले महिनाको पूर्वार्द्धमा झैंझगडा, कलह आदिबाट टाढै बसेको जाति हुनेछ ।
यस्तै, घरपरिवारकै सदस्यका बीचमा मनोमालिन्य बढ्नाले एवं ससाना कुरामा झैंझगडाका कारण मानसिक तनाव बढ्न सक्छ । मुखलाई नियन्त्रणमा राख्नु बेस हुनेछ, नत्र अप्ठ्यारामा पर्न सकिन्छ । चतुर्थ भावमा राहु र दशम भावमा केतुको उपस्थिति छ, यसको प्रभावले अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन गर्ने प्रयत्न गर्नु हुँदैन, नत्र झमेलामा फँस्न सकिन्छ । दशम भावको शुक्रले प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ ।
विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुहुनेछ । घर–परिवारमा केही असमझदारी देखिए पनि यस महिनामा राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ । मिहिनेत र पुरुषार्थले फाइदा उठाउने समय छ । कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ । मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ । अप्ठ्यारो समयमा पनि आम्दानी भइरहनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । हात–हतियार, सवारी र जोखिमपूर्ण काममा अलि सावधान रहनुहोला । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ ।
यो महिनाका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यो महिना कुनै अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले माता लक्ष्मीको उपासना गर्नु बुद्धिमानी हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको २, ३, ४, ११, १२, १३, २१, २२ र २९ गते अलि कमजोर दिन रहने छन् । तपाईंका लागि अशुभ रहने छन् ।
मीनः पुस महिनाको संक्रान्तिका दिन तपाईंको राशिबाट दशम भाव अर्थात् कर्म क्षेत्रमा सूर्य, बुध र चन्द्रमा, तपाईंको आफ्नै राशिमा मंगल ग्रह, एकादश भावमा राशिस्वामी बृहस्पतिका साथमा शनिदेव, भाग्य क्षेत्रमा शुक्र र केतु तथा तृतीय भावमा राहु ग्रहको उपस्थिति छ । यस क्रममा मंगल ग्रहले धन भावमा, बुधले लाभ भावमा र १९ गते शुक्रले दशम भावमा प्रवेश गर्नेछन् । यो महिना कर्मक्षेत्रमा सूर्य र बुधले भ्रमण गर्ने महिना हो । यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकसँगको सम्बन्ध दिन प्रतिदिन सुध्रने सङ्केत छ । समयका साथै सङ्ग्रह र वचत गर्न थाल्नु हुनेछ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना पनि छ । घरपरिवारका सदस्यको व्यवहार अनुकूल रहने छ ।
व्यापारिक लाभका लागि यात्राको सम्भावना छ, व्यापारीले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । राशिस्वामी बृहस्पति र शनिको एघारौं भाव अर्थात् राज्य स्थानमा उपस्थिति देखिन्छ । त्यसैले अहिलेको महिना सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय पनि हो । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्न सक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । सहकर्मी र विपरीत लिंगी साथीसँग उठबस गर्ने मौका मिल्नेछ । नयाँनयाँ मित्र बनाउने पाइने तथा लोकप्रियता हासिल हुने समय हो ।
यस अवधिमा कुनै विशिष्ट व्यक्ति वा विद्वान्, अनुभवी वा जानकार व्यक्तिको सामीप्य पाइने एवं ज्ञान र पहुँचमा विस्तार गर्ने समय हो । कर्मचारीले इच्छाएको जिम्मेवारी प्राप्त गर्ने वा बढुवा प्रशंसा पाउने समय छ । त्यस्तै विद्यार्थीले पढाइलाई माध्यम बनाएर विदेश यात्रा गर्ने, अनुसन्धानात्मक कार्य गर्ने र छात्रवृत्तिका लागि प्रयास गर्ने समय हो । तृतीय भावको राहु र नवम भावको केतुको प्रभावले सामाजिक सम्बन्ध सुदृढ बन्नेछ, आयपरेका समस्या र चुनौतीमा मित्रवर्ग र सँगीसाथीको सहयोग प्राप्त हुनेछ । तर याद गर्नुहोला तपाईंको आफ्नै राशिमा मंगल ग्रहको उपस्थिति छ, हुन त भाग्यबृद्धिमा यसले राम्रो सहायता गर्नेछ, तर पनि मंगलको नैसर्गिक फल प्राप्ति हुँदा इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह नदेखाउनु उचित हुनेछ । खासगरी जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ । समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ । स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग मित्रता बढ्नेछ । विद्वानको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ । अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । नोकरीमा प्रवेश वा पदोन्नतिको मार्ग खुल्न सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ । व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ । नाम, दाम र इनाम प्राप्त हुने समय छ ।
यो महिनाका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हरियो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यो महिना कुनै पनि ग्रहजन्य दुष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले तपाईंले श्री गणेशजीको उपासना गर्ने अथवा मंगल ग्रहको उपासनामा जोड दिनु वाञ्छनीय हुनेछ । सामान्यतया यस महिनाको ४, ५, ६, १४, १५, १६, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।