हैदाराबाद । भारतीय चलचित्र पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदराबादको सन्ध्या थिएटर मामिलामा ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविरुद्ध ठूलो कारबाही भएको हो ।
उनलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो । गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा एक महिलाको मृत्यु भएको मामिलामा अभिनेता अल्लु अर्जुनलाई सोधपुछका लागि हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको छ ।
अल्लुले आफू यो घटनाबाट दुःखी भएको भन्दै मृतकका परिवारलाई २५ लाख भारु दिने वाचासमेत गरेका थिए । उनले घाइतेहरुको उपचारको खर्च पनि आफूले नै गरिदिने बताएका थिए ।
खासमा उनी ४ डिसेम्बरमा कसैलाई खबर नै नगरी थिएटरमा गएका थिए । तब उनीसँग भेट हुनका लागि फ्यानको तछाडमछाड हुँदा उक्त दुर्घटना भएको हो ।
अहिलेसम्मको भारतीय चलचित्रको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।