arrow

सहकारी ठगीमा रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
ravi-bhairahawa4-sarkari-wa.jpg
तस्बिर – फाइल ।

पोखरा । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो । लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिएसँगै थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी म्याद थप गराइएको हो । 

उनी सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यहाँबाट पोखरा ल्याई ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । 

सहकारी ठगीबारे पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको बयान सकिएसँगै पाँच ओटै सहकारीको बयान सकिएको छ । 

तत्कालका लागि सहकारीको बयान सकिएको भए पनि उनीमाथि लागेका संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको अनुसन्धान पनि चलिरहेको छ । उक्त प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रहरीले अनसन्धानकै क्रममा रहेको बताएको छ । 

अनुसन्धान सकिएपछि उनीविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नुपर्नेछ । 

पाँच जिल्लामा छुट्टाछुट्टै उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइ सरकारी वकिलको कार्यालयले बयान लिएको भए पनि अब भने पाँच ओटै जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा एकसाथ दर्ता हुनेछन् । 

सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी व्यवस्था रहेको छ । 

रविसँगै उनका गोर्खा मिडिया प्रालिका साझेदार पूर्व डीआईजी छविलाल जोशीसमेत असोज ६ गतेदेखि नै प्रहरीको थुनामै छन् ।

९० दिन थुनामा राख्न पाउने भएकाले छविको हिरासत समय सकिन १० दिनमात्र बाँकी छ । 

१० दिन भित्रै छवि र रविका बारेमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेछ । 

पाँच ओटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनीहरु थुनामुक्त हुनेछन् ।

पाँचमध्ये कुनै एउटा अदातलले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे भने थुनाका लागि कारागार चलान हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ