arrow

सहकारी ठगीमा रवि लामिछानेलाई बयान लिन वीरगञ्ज लगियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
ravi-bhairahawa4-sarkari-wa.jpg

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा आज पर्सा लगिएको छ ।

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा बयानका लागि उनलाई आज पर्सा लगिएको हो । लामिछानेलाई १२ बजे नै पोखरा अन्तर्राष्ट्रय विमानस्थल पुर्याइएको थियो । प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरा विमानस्थलमा उतारेर वीरगञ्ज पुर्‍याइने छ ।

सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लाछिानेलाई आइतबार कास्की जिल्ला अदालतले चार दिन म्याद गरेको थियो ।

उनलाई यसअघि अदालतबाट कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा १५ दिन म्याद थप भएको थियो ।

यसबीचमा बयानका लागि उनलाई रुपन्देही, काठमाडौँ र चितवनसमेत पुर्‍याइएको थियो । बयानमा क्रममा उनले इन्कारी जवाफ दिएको बताइन्छ । तर उनी बयानका क्रममा अक्मकिने, आफ्ना वकिलसँग कुराकानी गर्न समय माग्ने गरेकोसमेत पाइएको छ । यद्यपि उनले मुख्य आरोपी जीबी राईसँग मिलेर रकम दुरुपयोग गरेको प्रमाण प्रहरीले पेश गर्दै आएको छ । 

लामिछानेलाई चितवनमा बयान सकाएर मध्यरातमा कास्की ल्याइएपछि प्रहरी विवादमा मुछिएको छ । चितवन प्रहरीले विज्ञप्ति प्रकाशित गरी लामिछानेकै सुरक्षाका लागि रातको समयमा कास्की लगिएको जनाएको छ ।

उनलाई भेट्न कास्की आएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लामिछानेमाथि अन्याय भएको जिकिर गरेका छन् । रवि पत्नी निकिताले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगले समेत अनुसन्धान थालेको छ ।

कात्तिक २ मा काठमाडाैँबाट पक्राउ परेका लामिछानेलाइ ३ गते कास्की ल्याइएकाे थियाे ।

रविसँगै सोही प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पनि पक्राउ परेका छन् । उनी असोज ६ गते नै पक्राउ परेका हुन् । उनलाई पनि वीरगञ्ज पुर्याइएको छ । उनले पनि यसअघि चारै ओटा जिल्लामा बयान दिइसकेका छन् । 

रविलाई हवाई मार्गबाट वीरगञ्ज लैजाँदा छविलाई भने सडक मार्गबाट लगिएको हो । उनलाई वीरगञ्ज पुर्याइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ