काठमाडौँ । गत मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पहिलो संस्करणमा चौथो चरणका खेल सकिने क्रममा छन् ।
१५ ओटा खेल सकिइसकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो संस्करण सधैका लागि स्मरणीय हुनेमा कुनै शंका छैन । नेपाली खेलाडीहरु विदेशमा गएर खेल्न लालायित भएका बेलामा अवसरको ढोका आफैँ खोल्दै क्यानले विदेशी खेलाडीहरुलाई नै भित्र्याएर लिग आयोजना गरेको छ ।
यसले नेपाली खेलाडीहरुलाई व्यावसायिक खेलाडी बन्न थप ऊर्जा प्रदान गर्नेमा दुईमत छैन । किनकि उनीहरुले विदेशी खेलाडीहरुसँग घुलमिल हुन पाउँदा आफूलाई प्रस्फुटित हुने अवसर पाउँछन् ।
राष्ट्रिय टिममै नपरेका खेलाडीले भारतीय क्रिकेटर शिखर धवन, पाकिस्तानी सोहेल तन्भिर, इङ्गल्याण्डका रवि बोपारा जस्ता खेलाडीहरुसँग खेल्न पाउनु ठूलो कुरा हो । उनीहरुबाट नेपाली खेलाडीले धेरै कला सिक्न सक्छन् ।
यसले गर्दा नेपाली खेलाडीहरुलाई कुनै पनि दृष्टिकोणबाट बेफाइदा छैन । अर्कातर्फ आठ फ्रेन्चाइजी टिमबाट खेल्नु भनेको व्यावसायिक बन्दै आर्थिक जोहो पनि गर्न सक्नु हो ।
पुस ६ गते फाइनल हुँदै गर्दा यो १२ दिनमा खेलाडीहरुको सिकाइसँगै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईको भाषामा ‘क्रिकेट फेस्टिभल’ (क्रिकेट चाड) बाट दर्शकले पनि मनोरञ्जन लिने नै छन् ।
रोमाञ्चकता र व्यक्तिगत प्रदर्शन ?
अहिलेसम्मको खेलको रोमाञ्चकता हेर्दा सबैभन्दा पीडित लुम्बिनी लायन्स रहेको छ । लुम्बिनीले विराटनगर किंग्ससँग जितिसकेको खेल हार्न पुगेको थियो भने जनकपुर बोल्ट्ससँग त एक रनलेमात्र पराजित भयो ।
यो खेल त पूर्णरुपले लुम्बिनीको पक्षमा गइसकेको थियो । तर अन्तिम तीन ओभरमा पाँच विकेट गुमाउन पुग्दा लुम्बिनी एक सय ३७ रनको चुनौती पछ्याउँदा एक सय ३५ रनमा समेटियो ।
यही हारको मुख देखिसकेको जनकपुरको आयोजकले उत्साही भएर टिमलाई चीन भ्रमण गराउने रोमाञ्चक प्याकेज नै सार्वजनिक गरेको छ ।
यसको मतलब हो व्यावसायिकताले खेलाडीलाई रोमाञ्चकता पनि पैदा गरेको छ ।
तर अर्कातिर राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले सम्हालेको लुम्बिनीले भने सारै नै पीडादायी प्रदर्शन गरेको छ ।
जितको उत्साहका लागि समर्थकहरु जोडले उफ्रिँदै गर्दा खेलाडीहरुको खराब प्रदर्शनका कारण भुइँमा बजारिन पुगेका छन् । रोहितको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट नै छ ।
उनले सर्वाधिक १८१ रन बनाएका छन् । उनीपछि अमेरिकी खेलाडी लहिरु मिलान्था रहेका छन् । उनले १६८ रन बनाएका छन् । बलिङतर्फ पाकिस्तानी सोहेल तन्भिरले ९ विकेट लिएका छन् भने ललित राजवंशीको ८ विकेट रहेको छ । ललितलाई क्यानाडाका खेलाडी हर्ष ठाकेरले बराबरी गरेका छन् ।
त्यहीँ राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण दिएको जनकपुर भाग्यमानी सावित भएको छ ।
त्यस्तै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले एक खेल हारेर समान ६ अंकसहित जनकपुरलाई भेट्टाउने लक्ष्यमा छन् ।
कर्णाली याक्स ४ अंकसहित चौथो स्थानमा छ भने समान ३ खेल खेलेर समान २ अंकमा रहेका पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज पाँचौँ र छैटौँ स्थानमा छन् ।
विराटनगर किंग्स ४ खेल खेलेर २ अंकसहित सातौँ स्थानमा रहेको छ भने लुम्बिनी लायन्स चार खेलबाट अंकविहीन छ ।
अहिलेसम्म भएका खेलमा कसले कसलाई हरायो ?
–१५ औँ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
मंगलबारका खेल
मंगलबार २ खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोजले बिहान ९ बजे लुम्बिनी लायन्ससँग खेल्नेछ । यो खेल जित्दा चितवन शीर्ष स्थानमा पुग्नेछ भने लुम्बिनीले जित्दा हारको श्रृंखला तोड्ने छ र पाँचौँ स्थानमा पुग्नेछ । लगातार ३ खेल खेलेर थाकेको लुम्बिनीले सोमबार विश्राम पाएकाले मंगलबार नयाँ अध्याय लिएर मैदानमा छिर्ने विश्वासमा समर्थक छन् । त्यस्तै चितवनका समर्थक भने टिम शीर्ष स्थानमा पुगेको हेर्न चाहन्छन् ।
मंगलबारको दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दैछन् । कर्णालीका सबैभन्दा भरपर्दा खेलाडी शिखर धवन भारत फर्किसकेका छन् । उनले चार खेलका लागि भनेर यो सिजनमा सम्झौता गरेका थिए । घुँडाको समस्याका कारण उनले भारतमा संन्यास लिएका थिए ।
यसबाट कर्णालीलाई कस्तो असर पर्ने हो त्यो हेर्न बाँकी छ । तर ओपनर देव खनाल फर्ममा फर्केकाले गर्दा टिममा समस्या नहुने विश्वास भने गर्न सकिन्छ ।
त्यस्तै पोखरा एभेन्जर्स भने लयमा फर्किसकेको अनुमान गर्न सकिन्छ । लुम्बिनीले दिएको १७१ रनको चुनौती पछ्याउँदा १६.५ ओभरमै कुनै विकेट नगुमाइ एन्द्रेस गोसको पिहलो शतकको मद्धतले जित हासिल गरिरहँदा पोखरा सशक्त छ भन्ने प्रमाण पस्किसकेको छ ।