arrow

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चारै जना थप चार दिन हिरासतमै रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
ravi-lam-07-03.jpg

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारै जना थप चार दिन हिरासतमै रहने भएका छन् ।

कास्की जिल्ला अदालतले रविसहित चारै जनालाइ थप चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि आज बिहान १० बजे नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनालको म्याद थप भएको हो ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कास्की जिल्ला अदालत कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा १५ दिन म्याद थप भएको थियो ।

यसबीचमा बयानका लागि उनलाई रुपन्देही, काठमाडौँ र चितवनसमेत पुर्याइएको थियो । बयानमा क्रममा सोधिएका उनले इन्कारी जवाफ दिएको बताइन्छ । उनलाइ अब पर्सा लैजाने तयारी छ । 

यता पूर्व डीआईजी जोशी असोज ६ गते पक्राउ परेका थिए । उनलाई सातौँ पटक चार दिन म्याद थप भएको हो ।

यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले आज चार दिन म्याद थप गरिदिएको छ । 

सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन् । उनीमाथि पनि अनुसन्धान जारी छ । उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो । केही दिन अघि कृष्ण गुरुङलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ