सिद्धबाबा सुरुङ मार्गः नौ सय बाउन्न मिटर खनियो, पहिलो टनेलको ब्रेक थ्रु गर्ने तयारी
नारायण वली,
प्रकाशित २०८१ मंसिर २४ सोमबार
798
Shares
लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारी गरिएको छ ।
मुख्य टनेल सिद्धबाबा मन्दिरदेखि दोभानसम्म ११२६ मिटर लम्बाईमध्ये खन्नुपर्ने १०८९ मिटरमा दक्षिण तर्फ ४५६.७२ खनिएको र बाँकी १३७ मिटर खनेपछि ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।
पहिलो टनेलको १५१ लम्बाईमध्ये १४८.२, दोस्रो टनेलको १६१ मा १४८.८ र तेस्रो टनेलको १३० मध्ये १२८.३८ मिटर खनिएको र यसअघि पहिलो र तेस्रो बाइपास (क्रस प्यासेज) ‘ब्रेक थ्रु’ भइसकेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारी बताउँछन् ।
उनले भने, 'अहिले मुख्य टनेलको काम धमाधम चलिरहेको छ . मुख्य टनेलको अगाडि भागमा फिनिसिङको काम चालु रहेको छ । मुख्य सुरुङको दुवैतर्फ दैनिक विस्फोटसहित खन्ने काम जारी छ । सिद्धबाबा र दोभानतर्फ गरी अहिलेसम्म ९५२ मिटर खनिएको छ । अबको एक वर्षभित्र टनेल खनेर सकिने र बाँकी सिद्धार्थ राजमार्ग चिडियाखोलादेखि दोभानसम्म पहिरो झर्ने ठाउँमा रकनेट, रकसेट र सडकको विस्तार गरी निर्माण गरिने छ ।'
निर्माणकार्यमा १ सय ५० जना कामदार खटिएको र सुरुङभित्र लाइनिङका साथै कंक्रिटको कामको काम अघि बढेको छ । 'हामी निर्माण व्यवसायीले के कसरी काम गरेको छ, योजना अनुसार गरेको छ कि छैन भनेर अनुगमन र त्यसको मापन गर्दै आएका छौँ, हालसम्म काम राम्रो र तीव्र गतिमा बढेको छ', इन्जिनियर सौम्या आनन्दले भनिन् ।
बर्सेनि वर्षात र हिउँदमा सुख्खा पहिरोका कारण उक्त सडकमा यात्रा गर्नेहरुले अकालमै ज्यान गुमाउनु परेको र सुरुङमार्ग बनेर सञ्चालनमा आएपछि मृत्युमार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको यात्रा सहज र भरपर्दो हुने चालक रतन गुरुङको विश्वास छ ।
गत भदौ २६ गते मुख्य टनेलको तेस्रो बाइपास १३० र असोज ४ मा पहिलो बाइपास १५० मिटर खनेर सकिइसकेको छ ।
मुख्य टनेलसँग जोडिने दोस्रो बाइपासको १३७ मिटर खन्न बाँकी रहेको र जसको काम भइरहेको छ ।
हालसम्म सुरुङ मार्गको भौतिक प्रगति ३४ प्रतिशत र वित्तीय प्रगति २२.५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।