पत्रकार महासंघमा कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
834
Shares
काठमाडौँ । नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ। असन्तुष्टि पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै शुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन्।
एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्रै गठबन्धनमा विद्रोह भएको हो। विष्ट अघिल्लो कार्यकालमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष थिए । उनी केही समय कार्यवाहक अध्यक्षसमेत भए । देउवा समूहनिकट मानिने विष्टले माओवादीनिकट प्रेस सेन्टरसँग गठबन्धन गरेका छन्।
शनिबार रिपोर्टर्स क्लबमा एक कार्यक्रम गर्दै उनले संयुक्त प्यानलको उम्मेदवारसहित प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे। प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै विष्टलाई समर्थन गरेका छन्।
उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टर्स क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए।
उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरु सक्रिय भएर अघि बढ्ने बताए। उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए।
विष्टले वरिष्ठ उपाध्यक्षमा सेन्टरका रोशन पुरीलाई राखेका छन्। गठबन्धनमा केन्द्र र जिम्मेवार संगठनबाटै विद्रोह भएपछि यसको असर देशभरि पर्ने आँकलन गरिएको छ। गठबन्धनभित्र प्रदेश र जिल्ला-जिल्लामा भागबन्डा छ, यसलाई लिएर देशव्यापी असन्तुष्टि छ।
पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ।
दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन् । यसरी निर्वाचित हुने दल निकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम, दलीय आज्ञा बढी मान्ने गरेका छन्।
यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने 'शुद्धीकरण' अभियान चलाइएको थियो। तर यिनै दलनिकट संगठनहरूले यसमा लामो किचलो गरे। जेठमै हुनुपर्ने निर्वाचन सर्दै-सर्दै मंसिरमा पुगेको हो।
देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन्। तर नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन।