काठमाडौँ । जारी सिजनको इङ्गलिश प्रिमियर लिगमा खराब प्रदर्शन गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले अर्को हार बेहोरेको छ । साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुललाई फाइदा भयो भने चेल्सी र आर्सनल अगाडि लागेका छन् ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई नटिङ्घम फरेस्टले ३–२ ले पराजित गरेको हो । युनाइटेडविरूद्ध खेलको २ मिनेटमै फरेस्टले गोल गरेको थियो । फरेस्टका मिलेन्कोभिचले गोल गर्दै युनाइटेडविरूद्ध अग्रता लिएका थिए ।
युनाइटेडका होजलुन्डले १८ मिनेटमा गोल फर्काएका थिए । खेलको ४७ मिनेटमा फरेस्टका जिब्स ह्वाइट र ५४ मिनेटमा उडले गोल थपेपछि युनाइटेड ३–१ ले पछि परेको थियो ।
युनाइटेडका ब्रुनो फर्नान्डेजले खेलको ६१ मिनेटमा अर्को गोल थपे पनि युनाइटेडले हार टार्न सकेन ।
लिगमा खराब प्रदर्शन गर्ने क्रममा सिटी क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्यो ।
खेलको चार मेनेटमा मुनोजको गोलबाट अग्रता लिएको प्यालेसका लागि ५६ मिनेटमा लाक्रोइक्सले अर्को गोल गरेका थिए ।
सिटीका हालान्डले ३० र लेविसले ६८ मिनेटमा गोल गरेका थिए । युनाइटेड १९ अंक साथ लिगको १३औँ स्थानमा छ भने फरेस्ट २५ अंक साथ लिगको पाँचौँ स्थानमा छ ।
यता सिटी २७ अंक साथ लिगको चौथो स्थानमा छ । ३५ अंक साथ लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई कुनै पनि क्लबले अहिलेसम्म चुनौती दिन सकेका छैनन् ।
गएरातिको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हरायो भने ब्रेन्टफोर्डले न्यूकासल युनाइटेडलाई ४–२ ले हरायो ।
म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकियो । लिभरपुल र एभर्टनको खेल भने स्थगित भएको छ ।
आजका खेल
आज आर्सनलले फुल्हमसँग र इप्सिविच टाउनले बर्नमाउथसँग बेलुकी ७ः४५ बजे खेल्नेछ । सोही समयमै लेस्टर सिटीको भिडन्त ब्राइटनसँग हुनेछ ।
राति १०ः१५ बजे टोटनह्याम हट्सपरले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ ।
अंक तालिका
१४ खेलबाट ३५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । २८ अंकको चेल्सी दोस्रो स्थानमा छ । समान अंककै आर्सनल तेस्रो स्थानमा हुँदा एक खेल बढी खेलेको म्यानचेस्टर सिटीको २७ अंक छ र इप्सविच टाउन, वुल्भ्स् र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् ।