प्रधानमन्त्रीको स्पष्टीकरण- चीनसँग ऋण सम्बन्धी कुनै सम्झौता गरेको छैन [भिडियो]
ऋण, ऋण ऋण किन सारङ्गी बजेको छ ऋणको
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
653
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारे । उनले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए ।
उनले भने, ‘अस्ति नै देखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ । ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यसपल्ट बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजना अन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौँ र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा । अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्ने कुरा धेरै पल्ट भनिया छ । अब धेरै दोहोर्याउनु नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन, ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ यो । सधैँ ऋण, ऋण ऋण किन सारङ्गी बजेको छ ऋणको । होइन भनेर पटक पटक भनेका छौँ । ऋणसँग यो सरोकार राख्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरूले प्रयास गर्ने बताए । उनले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताए ।
उनले भने, ‘मेरो पालो अब १८ महिना जति रहेछ । त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उनले डेढ वर्ष चलाउनु हुन्छ, निर्वाचन गराउनु हुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेण्ट छ । चुनावमा हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला, आउँछ भन्ने हामीलाई विश्वास छ । विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, नत्र अरू तरिका होलान् ।’