arrow

विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
janaki-dhanusha.jpg

महेन्द्रनगर । जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न भएको छ ।

तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाइन्छ । 

यसपाली जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले करिब पाँच सय एक पाहुर लिएर राम मन्दिरमा पुगेका छन् ।

जानकी मन्दिरबाट पाहुर बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्दै जानकी मन्दिरका उत्तराधिकार महन्त रामरोशन दास वैष्णवले अगुवाइ गरेका थिए ।

तिलकोत्सव राम मन्दिरको प्राङ्गणमा महावीर युवा कमिटीको आयोजना भएको थियो ।

सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोसन दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीबीच सम्धी मिलन भएको छ ।

यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन मङ्गलबार रङ्गभूमि मैदानमा धनुषयज्ञ मनाइएको थियो ।

त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेतायुगमा मङ्सिर शुक्लपञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि एक सय एक भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसहित साधु सन्त महन्त बाजागाजासहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलनअनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।

भारतको अयोध्याबाट यसपटक पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीका रूपमा आएका छन् ।

तिलकोत्सव समारोहमा जानकी मन्दिरका तर्फबाट पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसहितका मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितका सुरक्षा निकाय सहभागी रहेका थिए ।

जनकपुरधाममा मङ्सिर १६ गते सुरू भएको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत भोलि २० गते मटकोर, २१ गते स्वयंम्बर तथा शुभविवाह र २२ गते रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महोमहोत्सव सम्पन्न हुने कार्यक्रम रहेको छ ।

तिलकोत्सव समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विवाह पञ्चमी महोसत्सवले नेपाल-भारतको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाह पञ्चमी महोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताए ।

मर्यादा पुरूषोत्तम श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्लपञ्चमी तिथिका दिन जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह महोत्सवको पाँचौँ दिन बिहीबार मटकोर विधि मनाइने र छैटौँ दिन अर्थात् मङ्सिर २१ गते सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि २२ गते रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ