कोरियाली राष्ट्रपतिले लगाएको मार्शल ल संसदले गरिदियो खारेज, १९० का विरुद्ध शून्य मत
संसद बैठक अवरोध गर्न संसदमा सेना परिचालन, सैनिकहरू हेलिकोप्टर र झ्यालका सिसा फुटाएर संसद भवन प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
1.5k
Shares
सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार राति लगाएको मार्सल ल अन्ततः असफल भएको छ । दक्षिण कोरियाली संसदमा भएको मतदानमा १९०–० मतका आधारमा सो असफल भएको हो ।
राष्ट्रपतिले मार्शल ल लगाए लगत्तै संसद बैठक बसेको थियो । संसद बैठक अवरोध गर्न संसदमा सेना परिचालन गरिएको थियो । कोरियाली सैनिकहरू हेलिकोप्टर र झ्यालका सिसा फुटाएर संसद भवन प्रवेश गरेका थिए ।
तर सेनाको अवरोधका बाबजुद संसदले राष्ट्रपतिको कदम पूर्णत खारेज गरिदिएको छ । संसदमा असफल भएपछि राष्ट्रपतिले मार्सल ल लगाएको छ घण्टामै स्थगित भएको छ ।
उनले मार्सल ल फिर्ता लिएका छन् । उनले मार्सल ल लगाएपछि देशभर विरोध प्रदर्शन भएको थियो ।
मार्शल ल लगाए लगत्तै सेनाहरू सडकमा निस्केका थिए, जहाँ जनताले प्रतिरोध गरिरहेको दृश्य देखिएको थियो।
विपक्षीले भने महाभियोगवाट बच्नका लागि राष्ट्रपति युनले यो हत्कण्डा अपनाएको आरोप लगाएको छ । राष्ट्रपतिको अप्रत्याशित कदमपछि विपक्षी दलले आकस्मिक बैठकसमेत बोलाएको थियो । लगत्तै संसदमा प्रवेश गरेका हुन् ।
युनले भने उत्तर कोरियाको कम्युनिष्ट शक्तिबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरूलाई हटाउन यो कदम आवश्यक भएको तर्क गरेका थिए ।
‘उत्तर कोरिया समर्थक सेनालाई देशबाट हटाउन र उदार संवैधानिक प्रणालीको रक्षा गर्न यो निर्णय गरिएको हो’ उनले टेलिभिजन सम्बोधनमा भने ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले एक टेलिभिजन ब्रिफिङमा आफूसँग मार्शल लको सहारा लिनुको विकल्प नभएको बताएका थिए ।
यद्यपि दक्षिण कोरियाली राष्ट्रपतिले मार्शल ल अन्तर्गत के प्रतिबन्ध लगाइनेछ वा कुन विशेष नियमहरू ल्याइनेछ भनेर बताइसकेका थिएनन् ।
स्थानीय चार संस्थाहरूले राष्ट्रपतिले मार्सल लको घोषणा गरेलगत्तै देशको विपक्षी डेमोक्रेटिक पार्टीले आफ्ना सांसदहरूको आपतकालीन बैठक बोलायो । बैठकमा राष्ट्रपतिले चालेका कदम र सरकारले लगाएको प्रतिबन्धका विषयमा पनि छलफल गरेर संसदमा गएका थिए ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाको विपक्षी डेमोक्रेटिक पार्टीका नेता ली जे म्युङले मार्शल लको घोषणा असंवैधानिक भएको बताए।
अर्कोतर्फ सत्तारुढ पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनले पनि मार्सल ललाई गलत भन्दै यसलाई रोक्ने वाचा गरेको दाबी पनि भइरहेको थियो, नभन्दै उनले पनि राष्ट्रपतिलाई साथ दिएनन् ।
समाचार अनुसार दक्षिण कोरियाली नेतृत्वको विपक्षी डेमोक्र्याटिक पार्टीले शक्तिको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति युनलाई महाभियोग लगाउन माग गरेको एक महिनापछि मार्सल लको घोषणा गरिएको हो।
विपक्षीहरुले राष्ट्रपतिले मार्सल ल लगाएर महाभियोगबाट बच्न चाहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । विपक्षी नेता ली जे म्युङले मार्शल लले ‘पूर्ण तानाशाही’ निम्त्याउन सक्छ, यसको दुरुपयोगको ऐतिहासिक उदाहरणहरूलाई औंल्याउँदै चेतावनी दिएका छन् ।