दिल्ली-श्रीनगर जोड्न जनवरीदेखि पहिलो बन्दे भारत स्लिपर रेल सुरु हुँदै
एजेन्सी,
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
1.1k
Shares
तस्बिर : फाइल
नयाँ दिल्ली। भारतीय रेलवेले नयाँ दिल्लीलाई श्रीनगर सँग जोड्न डिजाइन गरिएको देशको पहिलो बन्दे भारत स्लिपर रेल सुरु गर्ने तयारी गरेको छ।
यो सेमी-हाइ-स्पिड रेल उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिङ्क (यूएसबीआरएल) मा चल्नेछ। जसले यात्रुहरूलाई आधुनिक सुविधाका साथ राम्रो यात्रा अनुभव प्रदान गर्नेछ।
बीईएमएलद्वारा निर्मित बन्दे भारत स्लिपर रेल लामो दूरी र रातभरको यात्राको लागि डिजाइन गरिएको हो। रेल मन्त्री अश्विनी वैष्णवले सेप्टेम्बर २०२४ मा ट्रेनको प्रोटोटाइप अनावरण गरेका थिए।
पिटिआई रिपोर्ट अनुसार, नयाँ दिल्ली देखि श्रीनगर सम्म बहु प्रतीक्षित बन्दे भारत स्लिपर रेल सेवा जनवरी २०२५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गर्ने अपेक्षा गरिएको छ। त्यसपछि छिट्टै वाणिज्य सेवाहरू सुरु हुने योजना छ।
बन्दे भारत स्लिपर रेलले नयाँ दिल्ली र श्रीनगर बिचको ८०० किलोमिटरको दुरी १३ घण्टाभन्दा कममा पूरा गर्नेछ।
यो सेवाले नयाँ दिल्ली र कश्मीर उपत्यकाबिच पहिलो पटक सीधा रेल जडान प्रदान गर्नेछ। जहाँ अहिलेसम्म त्यस्तो प्रत्यक्ष जडान छैन।
ईटी नाउ पत्रिकाको अनुसार, दिल्ली-श्रीनगर-नयाँ दिल्ली बन्दे भारत स्लिपर रेलमा विभिन्न प्रकारका कोचहरू हुनेछन्। जसमा ११ एसी ३-टायर कोच, ४ एसी २-टायर कोच र एक फर्स्ट एसी कोच।
यस सेवाको टिकट मूल्य थ्रिए (एसी थ्रि-टायर) को लागि दुई हजार रुपैयाँ, टूए (एसी टू-टायर) को लागि दुई हजार ५ सय रुपैयाँ र वान (फर्स्ट एसी) को लागि तीन हजार रुपैयाँको बीचमा हुने अपेक्षा गरिएको छ।
नयाँ दिल्ली-श्रीनगर बन्दे भारत स्लिपर रेल नयाँ दिल्लीबाट १९:०० बजे प्रस्थान गर्नेछ र अर्को बिहान ०८:०० बजे श्रीनगर पुग्ने अपेक्षा गरिएको छ। अम्बाला क्यान्ट जंक्शन, लुधियाना जंक्शन, कठुआ, जम्मू तवी, श्री माता वैष्णव देवी कटरा, सांगलदान, बनिहाल सहित केही प्रमुख स्टपहरूमा रेल रोकिने भारतीय रेलवे विभागले जनाएको छ।