काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडिरहेका छन् ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जितका लागि विराटनगरले १८३ रनको चुनौती पछ्याउँदैछ ।
खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनायो ।
कप्तान दिपेन्द्र सिंह ऐरीले २४ बलमा अविजित रहँदै ५ छक्का र ३ चौकाको मद्धतले ५७ रन जोडे । ब्रान्डन म्याकमुलेनले २६ बलमा ३६ तथा यशान पाण्डेले १६ बलमा २१ रन जोडे ।
अनिल खरेलले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने भने ३१ रन खर्चेर विकेटविहीन रहे ।
सुदूरको यो पहिलो खेल हो भने विराटनगरले दोस्रो खेल खेलिरहेको हो । पहिलो खेल विराटनगरले जनकपुर बोल्टससँग हारेको थियो ।
यसअघिका खेल
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।