ग्लोबल आईएमई बैंक एनपीएलमा सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
497
Shares
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
काठमाडौँमा एक कार्यक्रम माझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे ।
ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
'बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौँ', उक्त कार्यक्रममा पोखरेलले भने ।
शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आईएमई बैंक जोडिएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे । 'हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आईएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौँ', शाहले भने ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।