प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, आज सरोकारवालासँग छलफल, केन्द्रमा बीआरआई
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
299
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल गर्दैैछन् । मंसिर १७ गते सोमबारदेखि हुन लागेको उनको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको जनाएको छ ।
सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।
यसपालि चिनियाँ ऋणको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने कि नबढाउने भन्ने विवाद उत्कर्समा छ ।
प्रधानमन्त्री ओली भने यसलाई अगाडि बढाउने कसरतमा लागेको बुझिएको छ । यद्यपि प्रमुख सत्ता घटक नेपाली कांगेसले ऋणमा बीआरआई स्वीकार्न नसकिने बताइसकेको छ ।
तर पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदलेर बीआरआई ऋण कम प्रतिशतमा झारेर सहमति हुन सक्ने अनुमान भइरहेको छ ।
यसबारेमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिसकेको स्रोतको दाबी छ ।
बीआरआईका विषयमा अहिले अनेक अड्कल भइरहेका छन् । कसैले महँगो ब्याजमा ऋण लिनुहुन्न भनिरहेका छन् भने कसैले छिमेकीसँग महँगै भए पनि लिुनपर्ने धारणा राखिरहेका छन् ।
विशेषगरी कम्युनिष्ट घटकहरु चीनलाई चिढ्याउन खोजिरहेका छैनन् भने लोकतान्त्रिक घटकहरु विश्व बैंक र एसियाली विकास बैंकले दिएको सस्तो ऋण छाडेर महँगोमा चीनसँग लिन जरुरी नभएको बताएका छन् ।