नबिल बैङ्क आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
723
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा सम्मानित भएको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैङ्क लिमिटेडले बैङ्क, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ। यो वर्ष पनि आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने बैङ्कको रूपमा नबिल बैङ्कलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।
शनिवार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैङ्कलाई पुरस्कृत गरेका हुन्। उक्त कार्यक्रममा नबिल बैङ्कको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन्।
नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ। यस अघि आर्थिक वर्ष २०६७-६८, २०७०-७१, २०७१-७२, २०७३-७४, २०७५-७६, २०७६-७७ र २०७७-७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैङ्कको सम्मान पाएको थियो।
नबिल बैङ्क लिमिटेड नेपालको एक अग्रणी बैङ्क हो। यो बैङ्कले जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।