बक्यौता नतिर्ने उद्योगीको १५ दिनपछि फेरि लाइन काट्ने कुलमानको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
847
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरुप्रति फेरि कठोर हुने बताएका छन् । पत्रकार सम्मेलन गरेर उनले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरणले फेरि लाइन काट्ने बताएका छन् ।
सरकारले बक्यौता नतिरेर लाइन काटिएका उद्योगीको लाइन फेरि जोडेपछि उनले स्पष्ट पार्दै भनेका छन्, ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौँ ।’
यसपालि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि १५ दिनभित्र बक्यौता असुल उपर गर्न निर्देशन दिइसकेको बताउँदै घिसिङले बक्यौता नउठे नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा आशावादी भएको बताए ।
उनले दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्नेमा जोड दिँर्दै कहिले लाइन काट्ने र कहिले जोड्ने गर्नु उपयुक्त नभएको बताए ।