सर्वोच्चले दियो रास्वपाका पदाधिकारी र सांसद विरुद्धको अवहेलना मुद्धा दर्ता गर्न आदेश
उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले समेतलाई लाग्ने भो मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
901
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।
सो निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसपछि अधिवक्ता भट्टराई दरपिटविरुद्ध पुनः सर्वोच्चमा गएका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदर गरिदिएका हुन् । आदेश बदर भएसँगै रास्वपाका सांसद र पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने भएको छ ।
अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रदेश सभापति र २० जना सांसदविरुद्ध अदालतको अवहेलनाको निवेदन दिएका थिए ।
योसँगै उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले समेतको मुद्दा अघि बढेको हो ।