प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
578
Shares
काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधबार एकै दिन गर्ने गरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकै दिन सम्पन्न गर्ने गरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए ।
उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्यतता प्रस्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ । समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।