नेतान्याहूको घरमा ड्रोन आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लियो
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
1.3k
Shares
काठमाडौँ ।हिजबुल्लाहले मङ्गलबार इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरेली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ ।
बेरुतको दक्षिणी उपनगरमा इजरेलले खाली गर्ने चेतावनी दिएको केही समयअघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले उक्त स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताए ।
एएफपीका एक भिडियो पत्रकारका अनुसार पत्रकारहरूले छोडेको केही मिनेटपछि सम्मेलन स्थलबाट सयौँ मिटर टाढाको लक्ष्यमा इजरेली आक्रमण भयो । “हिजबुल्ला नेतान्याहूलाई लक्षित गरी गरिएको कैसरिया अभियानको पूर्ण, सम्पूर्ण र एकल जिम्मेवारी घोषणा गर्दछ”, अफिफले भने ।
शनिबार नेतन्याहूले केन्द्रीय शहर कैसरियामा रहेको आफ्नो निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएपछि आफू र आफ्नी पत्नीको हत्या गर्ने प्रयास गरेको आरोप हिजबुल्लामाथि लगाएका थिए ।
अफिफले सङ्ख्या उल्लेख नगरी समूहका केही लडाकूहरू इजरेली सेनाद्वारा पक्राउ परेको पनि स्वीकार गरे । “हाल शत्रुको कब्जामा रहेका बन्दीहरूको विषयमा मलाई थाहा छ कि शत्रु युद्धको नैतिकता र अन्तर्राष्ट्रिय सम्झौताहरूप्रति प्रतिबद्ध छैन तर बन्दीहरूको जीवन संरक्षण गर्ने जिम्मेवारी उसको हो”, उनले भने ।
यसअघि इजरेली सेनाले लेबनानमा आफ्नो स्थल आक्रमणको सुरुआतदेखि जम्मा चार हिजबुल्लाह लडाकूलाई पक्राउ गरेको बताएको थियो र तीमध्ये एक जनाले प्रश्नहरूको जवाफ दिएको देखाउने भिडियो फुटेज जारी गरेको थियो।
अफिफले समूहको माइक्रो–फाइनान्सिङ कम्पनी अल–कर्द अल–हसनले गत हप्ताको इजरेली आक्रमणअघि सबै आवश्यक सावधानीहरू अपनाएको र निक्षेपकर्ताहरूप्रति आफ्नो ‘दायित्व पूरा गर्ने’ प्रतिबद्धता जनाए ।
उनले भने, “यस्तो... आक्रमणको पूर्वानुमान गरेको थियो र सबै सावधानीहरू अपनाएको छ र निक्षेपकर्ताहरूप्रति आफ्नो दायित्व पूरा गर्न आवश्यक सबै काम गर्नेछ ।”