पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको भन्दै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशनालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
कर्मचारीले स्थायी सरकारको रुपमा जनताले अनुभूत गर्ने गरी सेवा प्रदान गर्नुपर्ने विचार राख्दै मन्त्री केसीले राम्रो कामका लागि मन्त्रालयको ढोका सधैँ खुला रहेको स्पष्ट पारे ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले कार्यकुशलता र कार्यदक्षता अभिवृद्धि गर्न तालिम उपयोगी भएको बताए ।
स्थानीय सडक पुल कार्यक्रमका कार्यालय प्रमुख साखिल मानन्धरले पहिले नेपालमा मोटरेबल सडक विभागले मात्र बनाउने गरेको भन्दै धेरै ठाउँमा कर्मचारी र आवश्यक सामग्रीको अभावले गर्दा काम ढिलो हुने गरेको जनाए ।
भौगोलिक कारणले नेपालमा धेरै पुल चाहिने उल्लेख गर्दै उनले सडक र पुलको गुणस्तर योजनावद्ध रुपमा सुधार्दै जानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सडक तथा सहरी विकास माहाशाखाका प्रमुख सिडिई राम पराजुली, स्थानीय सडक पुल कार्यक्रम गण्डकी प्रदेशका कार्यक्रम संयोजक अस्मित पोखरेल, इन्जिनियर हरिशंकर जोशी, लगायतले बोलेका थिए
पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाधार विकास निर्देशानालयका ल्याब टेक्निसियन सचिन अधिकारी सञ्चालन गरेका थिए ।
तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ । प्रदेश लोक सेवाबाट आएका नयाँ कर्मचारीलाई सीप र दक्षता सिकाउन सुरु भएको पर्यवेक्षण तालिममा ३६ प्राविधिक सहभागी छन् । प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजित गरी मोटरेबल पुलका विभिन्न अवस्था, देखा पर्ने समस्या र न्यूनीकरण गर्ने उपायबारे सिकाइनेछ ।