arrow

राजदूतमा सिफारिस भएकाहरूको सुनुवाइ शुरू, कानून विपरीत तुलाधर पनि सिफारिसमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
samsadiya-samiti-81-4-29.jpg

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाइ शुरु भएको छ । हालै ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया शुरु भएको हो  । 

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गरेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

यसैबीच संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिसमा परेकाहरुको सुनुवाइ गरिरहँदा कानून विपरीत डेनमार्कका लागि सुम्निमा तुलाधरको नाम परेको छ । 

बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सिविनकी कार्यकारी निर्देशक तुलाधरलाई राजदूतमा सिफारिस गरेको पाइएको हो । राजदूत नियुक्तसम्बन्धी निर्देशिका, २०७५ मा अन्तर्राष्ट्रिय राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) मा कार्यरत रहेको व्यक्ति राजदूत पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ।

तर सरकारले अन्तर्राष्ट्रिय र विदेशी सहायताद्वारा सञ्चालित सिविन, नेपाल नामक एनजीओकी कार्यकारी निर्देशकलाई राजदूतमा नियुक्ति सिफारिस गरेर संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाएसँगै यसको चर्चा भएको हो । 

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ३ (छ), (१०) मा नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको व्यक्ति मात्र राजदूतको पदमा नियुक्तिका लागि योग्य हुने प्रावधान छ। 

सुम्निमाले सामाजिक सञ्चाल ‘लिंक्डइन’मा अहिले पनि आफूलाई सिविन, नेपालको कार्यकारी संयोजक भनेर परिचित गराएकी छिन् । कान्ति बाल अस्पतालको ६२ औँ वार्षिकोत्सवका अवसरमा सिविन नेपाललाई सम्मान गरिँदा उनले सविनकी कार्यकारी निर्देशकको हैसियतमा प्रशंसापत्र बुझेकी थिइन्। 

सरकारले मलेसियाको राजदूतमा नियुक्तिका लागि पनि एनजीओकर्मी नेत्रप्रसाद तिमल्सिनाको नाम पनि सिफारिस गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ