ग्लोबल आईएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
964
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । ग्लोबल आईएमई बैंकको स्वतन्त्र–महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न छिन् ।
त्यसैगरी समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।
रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।