काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो ।
जितका लागि १७९ रनको चुनौती पछ्याउने क्रममा नेपाल ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाएर रोकियो ।
नेपालका लागि सीता राना मगरले २२ बलमा १८, बिन्दू रावलले १९ बलमा अविजित रहँदै १७, रुबिना क्षेत्री १६ बलमा १५ तथा कप्तनान इन्दू बर्मा १८ बलमा १४ रन बनाएर आउट भइन् ।
साविक विजेता भारतका लागि दिप्ती शर्माले ३ तथा अरुणधती रेड्डी र राधा यादवले २–२ विकेट लिए । नेपालले १० ओभरभित्र यो चुनौती पूरा गरेमात्र सेमिफाइनलमा प्रवेश गर्ने थियो ।
यसअघि खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १७८ रन बनायो ।
पहिलो विकेटका लागि १२२ रनको साझेदारी गर्ने क्रममा ओपनर शफाली वर्माले ४८ बलमा ८१ तथा दयालान हेमलथाले ४२ बलमा ४७ रन बनाइन् ।
नेपालका लागि सीता रानामगरले २ तथा कविता जोशीले १ विकेट लिइन् ।
पाकिस्तानले आफ्नो अन्तिम खेलमा यूएईलाई १० विकेटले पराजित गरेसँगै रन रेट निकै राम्रो बनाएकाले नेपालले भारतमाथि सामान्य जित हासिल गर्दासमेत कुनै फरक पर्ने थिएन । दबाबमा खेलेको नेपालले झन् कमजोर खेल्यो ।
भारत ३ खेलबाट ६ अंकसहित समूह विजेता तथा पाकिस्तान ३ खेलबाट ४ अंकसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
नेपाल २ अंकसहित तेस्रो स्थानमा रह्यो भने यूएई अंकविहीन हुँदै पुछारमा रह्यो ।
नेपाल र पाकिस्तानको खेल
नेपाल पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । जितका लागि १०९ रनको सामान्य चुनौती पछ्याएको पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो ।
पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्ने क्रममा गुल फेरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलीले ३४ बलमा अविजित रहँदै ४६ रन जोडिन् ।
नेपालका लागि कविता जोशीले विकेट लिइन् । त्यसबाहेक सबै खेलाडी महँगा सावित भए ।
यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०८ रन बनायो । नेपालका लागि कविता जोशीले २३ बलमा अविजित रहँदै ३१ रन बनाइन् । सीता राना मगरले ३० बलमा २६ तथा पूजा महतोले ३२ बलमा २५ रन बनाइन् । दुवै राम्रो खेलिरहेका बेलामा रनआउट भए । तीन नेपाली खेलाडी रन आउट भए ।
यसअघि नेपालले पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित हासिल गरेको थियो । तर पाकिस्तानसँगको हारसँगै नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ ।
समूह बीबाट ४ अंकसहित श्रीलंका सेमिफाइनलमा पुगिसकेको छ भने २–२ अंकका थाइल्याण्ड र बंगलादेशमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।
यसरी हराएको थियो नेपालले यूएईलाई
गत शुक्रबार भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्यो । विजयका लागि नेपालले ११६ रनको चुनौती पाएको नेपालले १६.१ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाइन् ।
त्यस्तै रुबिना क्षेत्रीले ८ बलमा १० रन जोडिन् । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । अलराउन्डर काभिशा एगोडागेले ३ विकेट लिइन् ।
यसअघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो ।
यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए ।
पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेट विहीन भए ।