प्रचण्डले राजीनामा नगरी बालुवाटार बसाइ लम्ब्याउने [भिडियो]
तुरुपलाई एउटा फाल्ने काम चाहिँ अर्को गर्ने षडयन्त्र भयो, संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान व्युँताउने षडयन्त्र गरेको जिकिर
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
853
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नगरी बालुवाटार बसाइ लम्ब्याउने भएका छन् । नेपाली कांग्रेस र एमालेको सहमतिमा सरकार बन्ने भएपछि पनि प्रचण्डले तत्काल राजीनामा नदिई बालुवाटार बसाइ लम्ब्याउने भएका हुन् ।
कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको माओवादी केन्द्र को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसद्को सामना गरेर विश्वासको मत दिने धारणा राखेका हुन् । यता बैठकमा पार्टी नेताहरूले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।
संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाएको र पार्टीको तर्फबाट पनि सबै नेताहरूले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेस र एमालेसँग पनि अहिले सहमति भए पनि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रका नेताहरूले दुई दलबीच सरकार बनाउने सहमति गर्ने र त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने कुरा राजनीतिक रूपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । त्यसैले गरी बैठकले कांग्रेस–एमाले सत्ता समीकरणले संविधान संशोधन गर्ने सहमति गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।
सचिव पौडेलले भने, ‘अब खास गरी प्रधानमन्त्रीसँग पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षले हिजो ४ घण्टा एकथरी कुरा गर्नु भयो । बेलुका अर्को थरी सहमति भयो । जस्ताको तस्तै भनिदिएको भए हुन्थ्यो । अहिलेको बहालवाला सम्माननीय प्रधानमन्त्री बसिरहनु पर्छ भन्ने केही थिएन । यदि सहमति हो भने जस्तोको तस्तै भन्नुस् भनेर २ दिनसम्म उहाँले लगातार भन्नु भयो । उहाँले केही पनि भएको छैन, हामी मिलेर जाने हो । हामी त धेरै परसम्म मिलेर जाने हो भनिरहेको स्थितिमा अब राति जो प्रकारको सहमति भयो । त्यो सहमतिको एक प्रकारको राजनीतिमा एकातिर एक थोक भन्ने, अर्कोतिर अर्कोथोक गर्ने कुरा भएको सहजै अनुमान गर्न सकिन्छ । अव प्रधानमन्त्रीले के गर्ने त भन्दा अब प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । गणित सो गर्न जाने, संसद फेस गर्ने र संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । हामीले पार्टीको तर्फबाट पनि सबैले एकमतले विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरूसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेस सँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षहरूसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने कुरा भएको छ । एकातिर एउटा सहमति गर्ने, अर्कोतिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर दुई पार्टीले सहमति गरिसकेर अरू पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर मिल्छ र ? जे हो त्यही भन्नुपर्दथ्यो नि । त्यसकारणले तुरुपलाई एउटा फाल्ने, काम चाहिँ अर्को गर्ने जे भएको छ । यो चाहिँ षडयन्त्र हो । यसको चाहिँ प्रतिवाद गर्ने भन्ने कुरा भएको छ । जसले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्छ, उसैको सरकार हुन्छ । त्यो घुर्क्याउने भन्दा पनि लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति हामी पहल गर्छांै । र जुन कुरा बाहिर सार्वजनिक भएको छ खास गरी संविधान संशोधन गर्ने कुरा । के विषयमा संविधान संशोधन हो ? के आवश्यकता पर्यो ? के खडेरी पर्यो, देशका के सङ्कट पैदा भयो ? त्यो विषय बुझ्न बाँकी नै छ । कतै २०४७ सालको संविधान ब्युँताउने षडयन्त्र त छैन ? यो विषयमा गम्भीर प्रश्न उठेको छ । यो विषयमा पनि हामीले विभिन्न पक्षहरूसँग कुरा गर्ने भनेका छौँ । ’
एमालेले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विश्वासको मत फिर्ता लिए संसद्बाट विश्वासको मत लिने निर्णय भएको बताए । संविधानअनुसार सत्ताधारी कुनै दलले विश्वासको मत फिर्ता लिए एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
उनले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताए । उनले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबीच सहमति नभएको बताए ।