पाँच सय र हजारका नोट तत्काल प्रतिबन्ध लगाउन धनराजको माग [भिडियो]
अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा बाहिर आउँछ
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
993
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुपर्छ । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।
बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।
उपसभापति गुरुङले भने, ‘ आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ । यदि यी नोटहरू क्वीट गर्यौँ भने ८० प्रतिशत गैरकानूनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । ’
उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताए । उनले भने,; यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।'