arrow

सशस्त्रको सुरक्षा युनिट हुँदै भित्रिएको सामान भन्सारको नियन्त्रणमा, प्याज तस्करको ट्रान्जिट प्वाइन्ट त्रिलोकपुर नाका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
onion-india-imports.jpg

भैरहवा । भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुँदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट अवैध रूपमा नेपाल प्रवेश गरेको हो । 

चोरी निकासी भइरहेको छ भन्ने सूचना आएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमको नेतृत्वको टोलीले आइतबार राती मर्चवारको गैरगट्टीबाट प्याज सहितको २ ट्रक र रुपन्देहीको सियारी अमुवाबाट १ पिकअप कपडा, कस्मेटिकका सामान बरामद गरेको हो । गौतमका अनुसार मर्चवार क्षेत्रबाट अवैध कारोबार भइरहेको खबर आउनासाथ  राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकबाट १४० बोरा प्याज सहित गाडी नियन्त्रणमा लिएको बताए । भन्सार गस्ती टोलीलाई देखेपछि गाडीका  दुई वटै चालक फरार भएका थिए । प्याज त्रिलोकपुर नाकाबाट आएको हो, अहिले यो नाकाबाट आधा दर्जन बढी पिकअपमा प्याजको तस्करी हुने गरेको छ । 

यस्तै भैरहवा भन्सार गस्ती टोलीले अमुवाबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छली गरिएका भित्री वस्त्र, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका सामान पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहँदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलेमतोमा भइरहेको छ भन्ने ठोस प्रमाण हो । रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरू आएसँगै अवैध बस्तु नियन्त्रण ठूलो मात्रामा हुने गरे पनि यो सङ्ख्या अहिले निकै घटेको छ ।

सयौँ सुरक्षा संयन्त्र हुँदा पनि सुरक्षा टोलीले समान नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथि शङ्काको प्रश्न हो । यदि शङ्का नभए अहिले सम्म सुरक्षा निकायले किन समात्न सकेको छैनन् । सुरक्षा निकायले खुला सिमाना नै चुनौती रहेको बताउँदै गर्दा आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि ल्याउने सामानमा कडाइ गर्ने गरेको प्रहरीले तस्करहरूलाई छुट गरेको पाइन्छ । 

सुरक्षा निकायले थोरै मात्रामा सामानहरू बरामद गरेर कार्यसम्पादन देखाए पनि ठूला तस्करहरूलाई छुट सरह छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । जिल्लाका सुरक्षा प्रमुखहरू फेरिएसँगै दैनिक जसो ठूलो परिमाणमा अवैध बस्तु बरामद भए पनि अहिले यो क्रम घटेको छ । अहिले फाटफुट र न्यून मात्रामा मात्रै अवैध सामान बरामद भइरहेको छ ।

भन्सार प्रमुख गौतमले हामीले पाएको गोप्य सूचना र लोकेसनको आधारमा सक्रियता बढाएका छौ । आइतबार मात्रै ३६ लाख ८० हजार मूल्य बराबरको अवैध सामान र गाडी नियन्त्रणमा लिएका हौ । गस्ती टोलीले पनि छड्के निरीक्षण गदै अवैध गतिविधिलाई न्यूनीकरण गर्ने तर्फ भन्सार कार्यालय लागेको छ । भारतले प्याज निर्यात खोले पनि निर्यात कर धेरै भएपछि तस्करहरूले अवैध रूपमा प्याज नेपाल भित्र्याइरहेका छन् । जुन रूपमा भन्सारबाट प्याज आउनु पर्ने हो त्यो अवस्था अहिले छैन ।

रुपन्देहीका विभिन्न नेपाल–भारत सीमा  क्षेत्रहरूबाट भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन् । मुद्रास्फीति नियन्त्रणका लागि भारतले समय समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ, जसको फाइदा सीमा क्षेत्रका तस्करहरूले लिइरहेका छन् । प्याज निर्यातमा प्रतिबन्ध भएपछि सीमामा अवैध रूपमा प्याजको कारोबार हुने गरेको छ । अहिले भने निर्यात प्रतिबन्ध भारतले हटाएर निर्यात कर लगाएपछि तस्करहरू अवैध कारोबारमै लिप्त छन् ।

अवैध रूपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउँछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट केही महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ । तर अहिले भने नगण्य मात्रामा मात्रै प्याज बरामद भइरहेको छ । 

भारतले २०२३को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटे पनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको  छ जसले प्याजका तस्करहरू अझै सक्रिय छन् ।

नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’

भैरहवा भन्सारबाट पछिल्लो ५ महिनामा प्याजको आयात नै थियो भारतले निर्यात हटाएपछि केही मात्रामा भने प्याज भित्रिएको छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ ।

भारतका सीमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउँदै अवैध आयात बढेको हो । भारतमा सरदर प्रति किलो २० रुपैयाँ भारुमा प्याज फुटकर विक्री भएको छ भने नेपाल तर्फ सरदर ६५ रुपैयाँमा कारोबार भइरहेको छ । व्यापारीले अवैध रूपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्यापछ्याप्ती छ । अधिकांश प्याज अवैध रूपमा आएको हो ।

रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र ई रिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरूले पिकअप र मिनी ट्रकमा प्याज भित्र्याई रहेका छन् । तस्करका भरियाहरूले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अवैध रूपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रूपमा प्याज ओसार्ने गरेका छन् । दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् । सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरूको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरूको मुख्य नाका रहेको छ । भारतीय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरूको रोजाइमा यी नाकाहरू रहेका छन् । एउटै नाकामा धेरैको नजर रहेकोले बाँडिएर काम गरेका तस्करहरू अहिले समूह समूहमा भई काम गरिरहेका छन् । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन् । उनीहरूले एसपीका घुमुवाहरू मार्फत लाइन मिलाएको बताइरहेका छन् ।    

सिम क्षेत्रबाट आएका प्याज वसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन् । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौँसम्म पठाउने गरेका छन् । खुलेआम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौँ राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौँ राजस्व घाटा भइरहेको छ । एकातर्फ राजस्व गुमेको छ नै, मानव स्वास्थ्य मासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै यी प्याज धमाधम तस्करीको माध्यमबाट नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर गर्ने पलान्ट क्वारेनटाइनलेले जानकारी दिएको छ  ।

वीर बहादुर जयसवाल, नरेश जयसवाल(टासे), प्रवीण जयसवाल, मनोज यादव, प्रेम यादव, गौरी लगायतका तस्करहरूको एक समूह छ भने सुरेश जयसवाल, राकेश जयसवाल, सहाबुद्दीन फकीर, रामवेलाश जयसवाल, रामशरन यादवको अर्को समूह छ । यस्तै पिन्टु यादव, पप्पु, पवन, नारायण, गुड्नुको नेतृत्वमा पनि समूह छ । यी समूहले जिल्लाका सबैलाई मिलाएर काम गरिरहेको दाबी गर्छन् । समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोसाकका प्रहरीहरू मार्फत काम भइरहेको बताउँछन् । समूहले काम गर्ने नाका क्षेत्रमा पर्ने सबै चौकी, इलाका प्रहरी, विओपी र सुरक्षा निकायका प्रमुख समेतलाई सेटिङ गरेको बताउँछन् । हामीले मासिक बुझाउँछौ तर उताबाट कपडाको काम गर्न नदिने आदेश छ,  अरू कामका लागि सेटिङ भएको नाम नबताउने शर्तमा माथि उल्लेखित एक तस्करले भने । एउटा समूहले मात्रै १५ लाख बढी मासिक सेटिङमा खर्चेको दाबी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ