निजी क्षेत्रलाई सरकारले कन्फिडेन्समा लिने प्रयास गर्यो : महासङ्घ अध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले निजी क्षेत्रलाई विश्वासमा लिने प्रयास गरेको बताएका छन्। बजेट वक्तव्यपछि प्रतिक्रिया दिँदै उनले नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई दिएका सुझावहरूमध्ये बजेटमा केही सुझावहरू प्राथमिकताका साथ उल्लेख रहेको बताए।
ढकालले महासङ्घले नयाँ चरणको आर्थिक सुधारसम्बन्धी कार्य योजनाका लागि सुझाव दिएकोमा बजेटको सुरुमै उक्त विषय उल्लेख गर्नु स्वागतयोग्य रहेको उल्लेख गरे। बजेटले कृषि, पर्यटन, जलविद्युत जस्ता नव प्रपर्तनात्मक कुराहरूलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
यी सबै विषय हेर्दा सरकारले निजी क्षेत्रलाई विश्वासमा राख्दा मात्रै मुलुकको हित हुन्छ भन्ने बुझेको देखिने अध्यक्ष ढकालको भनाइ छ।
यद्यपि आर्थिक ऐन हेरेपछि सबै कुरा थाहा हुने भन्दै यसपछि महासङ्घले बजेटबारे आधिकारिक धारणा बनाउने बताए। उनले सरकारको पुँजीगत खर्च आफूहरूले अपेक्षा गरेको भन्दा कम रहेको टिप्पणी गरे। सरकारले विगतका बजेटमा जस्तै केही नयाँ कार्यक्रम ल्याएको भन्दै कार्यक्रम भन्दा त्यसको कार्यान्वयन र बजेटको सुनिश्चितता आवश्यक हुने भन्दै उनले सानो आकारको पुँजीगत बजेटले स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने बताए।