arrow

सुक्खाका कारण सुक्यो खानेपानीको मुहान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
water-tanker-panchtar.jpg

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्याङ्करबाट खानेपानीको व्यवस्था गरिएको हो । 

ट्याङ्करमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्याङ्कीमा सङ्कलन गरिएको छ। 

यहाँ निर्माण गरिएका २० र ६० हजार लिटर क्षमताका दुईवटा ट्याङ्कीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिङ्गोले बताए । 

“मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ”, खानेपानी वितरणको अगुवाइ गरिरहेका अध्यक्ष इधिङ्गोले भने, “पानीको हाहाकार हुन थालेपछि स्थानीयवासीकै सक्रियतामा खानेपानी ल्याउन थालेका हौँ ।” यहाँ वैशाख १५ देखि ट्याङ्करको सहायताले निरन्तर खानेपानी वितरण भइरहेको इधिङ्गोले बताए ।
 
तीन सयभन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन् । स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक एक घण्टाभन्दा समय खर्चनु परेको बाध्याता सुनाउँछन्। 
 
साविक भारपा गाविस वडा नं ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो । उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण सुरु भएको थियो । 

पुरानो साँचेखोला योजनाभन्दा करिव दुई सय ५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो । 

यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता पेयजल प्राप्तिको आधारभूत सुविधाबाट वञ्चित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ