arrow

२४ मध्ये हमासका कम्तीमा १८ बटालियन ध्वस्त, लाखौँ सर्वसाधारणले शरण लिएको रफाहमा आक्रमणको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । इजरेलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै अन्तर्राष्ट्रिय आक्रोशका बावजुद आफ्नो योजनाबद्ध अभियानलाई ‘अगाडि बढाइरहेको’ बताएको छ ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलनमा भने, “इजरेलले रफाहमा हमासलाई निशाना बनाउने हाम्रो अभियान अघि बढाइरहेको छ ।”

उनले भने,“रफाहमा रहेका चार सैन्य बटालियन इज्रायलबाट जोगिने छैनन् । तिनीहरूमाथि आक्रमण हुनेछ ।”

प्यालेस्टिनी इस्लामिक आन्दोलनविरुद्ध गाजामा रक्षात्मक र सामरिक मिसनका लागि ‘दुई थप ब्रिगेड’ परिचालन गरिएको मेन्सरले बताए । 

गत अक्टोबर २७ मा गाजामा इजरेलले स्थलआक्रमण सुरु गरेयता हमासका २४ बटालियनमध्ये कम्तीमा १८ वा १९ बटालियन ध्वस्त भइसकेको उनले बताए । 

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र रफाहमा इजरेली स्थल सेना प्रवेश गर्न बाँकी रहेको रयसलाई इजरेलले छिट्टै अघि बढाउने बारम्बार बताउँदै आएका छन् । 

गाजामा इस्लामिक समूहलाई नष्ट गर्ने आफ्नो सरकारको युद्ध उद्देश्यका लागि रफाहमा हमासका बाँकी रहेका चार बटालियनको अन्त्य हुनु महत्वपूर्ण रहेको उनले बताए । 

गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांशले रफाहमा शरण लिएका छन् र धेरैले अस्थायी शिविरमा आश्रय लिएका छन् ।

इजरेलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकासहितका देशहरूले ठूलो सङ्ख्यामा नागरिक हताहत हुने डरले रफाहमा सेना नपठाउन इजरेलसँग आग्रह गर्दै आएका छन् । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसै महिनाको सुरुमा भनेका थिए, “रफाहमा पूर्ण सैन्य आक्रमणले त्यहाँ फसेका सर्वसाधारणमा निकै हानिकारक प्रभाव पार्नेछ र यसले अन्ततः इजरेलको सुरक्षामा असर पार्नेछ ।”

रेडक्रसका अधिकारी फाब्रिजियो कार्बोनीले आक्रमण हुनुअघि रफाहका बासिन्दालाई शहरबाट अन्यत्र सार्ने योजनाबारे मानवीय समूहलाई कुनै जानकारी नभएको बताए । 

उनले एएफपीसँगको कुराकानीमा भने, “विनाशकारी मानवीय क्षति बिना सैन्य अभियान सञ्चालन गर्न सक्ने अवस्था छैन ।”

हमास गाजामा स्थायी युद्धविराम चाहन्छ, जुन यस चरणमा नेतन्याहूलाई अस्वीकार्य छ । यसले हमासका सबै बटालियनहरूलाई ‘समाप्त’ गर्ने प्रतिज्ञा गरेका छन् ।

मेन्सरले गाजामा अहिलेसम्म भएको युद्धमा कम्तीमा २६ हजार आतङ्ककारी मारिएको, पक्राउ परेको वा घाइते भएको बताएका छन् ।

एएफपीले प्राप्त गरेको इजरेली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरेलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । 

आक्रमणका कारण कारण एक हजार १७० जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।

हमासविरुद्ध इजरेलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजार २६२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ