गौहत्याविरुद्ध प्रदर्शन, आरोपीलाई कारबाही गर्न माग [तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
855
Shares
नेपालगञ्ज । पाँच महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछि राष्ट्रिय एकता अभियानले सो विरुद्धमा नेपालगञ्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको सो प्रदर्शनमा हत्यारालाई कारबाहीको माग गरिएको छ ।
अध्यक्ष यादवले गौहत्याले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्याउने र धार्मिक सहिष्णुतामाथि प्रहार गरेको बताए । अभियानले सो जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर तत्काल कडा कानूनी कारबाहीको माग गरेको छ।
साथै अभियानले हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकाले सो घटनालाई देशैभरी जारी जिहादको एक अंगका रूपमा रहेकोसमेत दाबी गर्दै जिल्ला प्रशासन कार्यालय पुगी आरोपीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेललाई ज्ञापनपत्रसमेत बुझाएको छ।
अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘हामी, राष्ट्रिय एकता अभियानले नेपालको हिन्दू भावनामाथि बारम्बार भइरहेको जिहादी हमला सम्बन्धमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं । नेपालगञ्ज वड़ा नम्बर १४ मा भर्खरै ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर आएको छ । यो कार्यले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्याउने मात्र होइन हाम्रो धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार भएको देखिन्छ ।
यस जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तुरुन्त र कडा कानूनी कारबाही गर्न हामी आग्रह गर्दछौं। यो घटनालाई नजरअन्दाज गर्न सकिँदैन, किनकि यसले हाम्रो देशको हिन्दू आस्थामाथि ठाडो प्रहार गरेको छ । साथै, यो घटनालाई हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार भएकोले यसलाई देशैभरी जारी जिहादको एक अंगका रूपमा लिन अनुरोध गर्दछौं’ भनिएको छ ।
ज्ञापनपत्रमा ‘हामी कानूनलाई कायम राख्न र हाम्रो समाजको धार्मिक सद्भावको रक्षा गर्ने तपाईंको प्रतिबद्धतामा विश्वास गर्छौं। यस मामिलामा तपाईंको द्रुत कार्यले न्याय मात्र प्रदान गर्दैन, यसले हाम्रो जिल्लाको हिन्दू समुदायलाई पनि सुरक्षाको आश्वासन दिन्छ’, भनिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा नगरका अन्य हिन्दूवादी संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।