arrow

समितिले गर्‍यो महालेखापरीक्षकमा रायाको नाम अनुमोदन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
toyam-ray-mahalekha.jpg

काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनमाथि परेको उजुरीमाथि छानबिन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । 

संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिए । 

उनले भने, ‘महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरी मिति २०८०-१२-१८ गते समितिमा पत्र प्राप्त भएको थियो । संसदीय सुनुवाइ समितिको मिति २०८०-१२-१९ गते बसेको बैठकको निर्णय अनुसार महालेखा परीक्षक पदका लागि प्रस्तावित व्यक्ति उपर उजुरी दिन १० दिनको अवधि राखी सूचना प्रकाशन, प्रसारण गरिएको थियो । उक्त अवधिमा प्रस्तावित व्यक्तिमाथि एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो । त्यसपछि प्रस्तावित व्यक्तिलाई समितिमा आमन्त्रण गरी संसदीय सुनुवाइ गर्ने कार्य सम्पन्न भयो । संवैधानिक परिषद्बाट सिफारिस तोयम रायालाई महालेखापरीक्षक पदमा प्रस्ताव गर्ने नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइका लागि नाम प्राप्त भएकोमा संघीय संसद्का संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० अनुसार समितिले सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भयो ।’

संवैधानिक परिषद्को गत चैत्र २८ गते बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने चैत्र १९ गते संसदीय सुनुवाइ समितिले १० दिने उजुरी आह्वान गर्दा उनमाथि एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो । 

ती उजुरी र सूचनामाथि पनि मंगलबारको बैठकले रायाले समितिलाई स्पष्टीकरण दिएका थिए । उनले स्पष्टीकरण पनि चित्तबुझ्दो भएकाले समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित उनको नाम अनुमोदन गरेको पनि संसदीय सुनुवाइ समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ