arrow

राष्ट्रपति रनिङ शिल्ड आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने, पलेशाले ओलम्पिक दीप बाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
dasharath-stadium-wide-evergreen-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । साँझ ५ः३० बजे राष्ट्रपतिले दशरथ रंगशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । 

राखेपका अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ । 

तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ । ५६ स्वर्णका लागि प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडीको सहभागिता रहने छ । 

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ । 

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । 

यस्तै शीर्ष तीन स्थान हात पार्ने टिमले पनि नगद पुरस्कार पाउने छन् । साथै जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ ।

पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने
उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छिन् ।

उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइने छ । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने छन् । 

परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने छिन् । दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स संघले गरिरहेको अध्यक्ष दीपक विष्टले जनाएका छन् ।

चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छिन् । 

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।

टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ