कोशीका मुख्यमन्त्री कार्की भन्छन् –मलाई अल्पमतमा पर्यो भन्नु संविधान नपढ्नु हो
ममाथि अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन, विश्वासको मत लिनुसमेत पर्दैन
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
1.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदारबहादुर कार्कीले अहिलेको अवस्थामा आफूले विश्वासको मत लिन आवश्यक नभएको बताएका छन् ।
माओवादी केन्द्र समर्थन फिर्ता लिएपछि सिर्जित राजनीतिक घटनाक्रमबीच मुख्यमन्त्री कार्कीले आफूलाई समय नआई कसैले पनि फाल्न नसक्ने स्पष्ट पारेका हुन् ।
उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदहरुको स्वतन्त्र समर्थनमा मुख्यमन्त्री बनेको भन्दै पार्टीले समर्थन फिर्ता लिन नसक्ने उनको भनाइ छ ।
सांसदहरुले समर्थन फिर्ता लिनसमेत संविधानमा व्यवस्था नरहेको उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीले चाहेमा विश्वासको मत लिन सक्ने भए पनि अहिलेको अवस्थामा यसको आवश्यकतासमेत नरहेको बताए । उनले आफूलाई हटाउन २ वर्ष भएपछि अविश्वासको प्रस्ताव ल्याउने बाटो खुला रहेको उनको भनाइ छ ।
अहिले आफूलाई अल्पमतमा पर्यो भन्नु संविधान नपढी गरिएको व्याख्या भएको उनको भनाइ छ । सोमबार माओवादी माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो लगत्तै सरकारमा सहभागी तीन जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।
यसअघि मुख्यमन्त्री कार्कीले गत कात्तिक १ गते विश्वासको मत लिएका थिए । सो समयमा उनले प्रदेश सभामा रहेका सदस्यमध्ये ८६ जनाको समर्थन पाएका थिए ।
उनी असोज २७ गते एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
त्यतिबेला केन्द्रीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा रहेको भए पनि माओवादी केन्द्रका नेतालाई चुनौती दिँदै आफूले कांग्रेसबाट विद्रोह गरी तत्कालीन प्रतिपक्षमा बसेको एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
एमालेका सांसदहरुको मतले स्पष्ट बहुमत भएपछि माओवादीका नेतासमेत पछि हट्नु परेको थियो ।
के मध्यावधि चाहन्छन् दलहरु ?
यतिबेला भने एमाले र माओवादी केन्द्रीय सत्ता गठबन्धनमा भएकाले कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै राजीनामाका लागि दबाब बढेको छ ।
तर संविधानअनुसार उनले अन्तिम विकल्पको प्रयोग गरेसँगै अब पनि दलहरुले आफ्नो ढिट नछाड्ने हो भने मध्यावधिमा जाने सम्भावना पनि खुला रहेको छ ।
कार्कीले आफूले कानूनको पूर्ण पालना गर्ने भन्दै कथंकदाचित दलहरु आफ्नो ढिट नछाड्ने अवस्थामा पुग्ने हो भने मध्यावधि चुनावमा जान सक्ने संकेतसमेत गरेका छन् ।
के दलहरुले अहिले मध्यावधि चाहेका हुन् त ? भन्ने प्रश्न खडा भएको छ ।
यद्यपि कार्की खुला दिलले सहमतीय सरकारका लागि भने खुला रहेको संकेत गरेका छन् ।