arrow

युराल नदीको बाँध भत्किएपछि सङ्कट, पुटिनद्वारा सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
putin-24-03-18-AP.jpg

काठमाडौँ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभसँगको छलफलका क्रममा ओरेनबर्ग क्षेत्रको बाढीले निम्त्याएको सङ्कटको अवस्थालाई पुनः सम्बोधन गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रूसी समाचार समिति तासले जनाएको छ । 

“ओरेनबर्ग क्षेत्रका गभर्नर डेनिस पासलर र आपत्कालीनमन्त्री अलेक्ज्याण्डर कुरेन्कोभले ओरेनबर्ग क्षेत्रको ओर्स्क वरपर बाढीको अवस्थाबारे आइतबार राष्ट्रपतिलाई जानकारी दिए”, प्रवक्ता पस्कोभले भने, “राष्ट्रपतिले कुरेन्कोभसँगको कुराकानीका क्रममा कुर्गान र ट्युमेन क्षेत्रमा सम्भावित बाढीका कारण उत्पन्न हुने अवस्थाको बारेमा समयमै विश्लेषण, पूर्वानुमान र उपयुक्त उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई जोड दिए, साथै उनले आइतबार यी क्षेत्रका नेताहरूसँग टेलिफोन वार्ता गर्ने योजना पनि बबताएका छन् ।” 

क्षेत्रीय सरकारको प्रेस सेवाले ओर्स्कमा खराब परिदृश्यले बढ्दै गएको बाढीको अवस्थाले छ हजार छ सयभन्दा बढी आवासीय घरलाई जोखिममा पारेको जनाएको छ । 

रूसस्थित ओरेनबर्ग क्षेत्रको दोस्रो ठूलो सहर ओर्स्कमा रहेको बाँध अप्रिल ६ मा रातारात दुई ठाउँमा फुटेको थियो । बाढीग्रस्त क्षेत्रमा दुई व्यक्ति मृत फेला परेको भए पनि उनीहरूको मृत्यु बाढीसँग सम्बन्धित नभएको अधिकारीहरूले बताएका छन् । 

कजाकिस्तान नजिकैको ओरेनबर्गको दक्षिणी क्षेत्रमा तटबन्ध गरिएको बाँध भत्किँदा बाढीमा परेर तीन जनाको मृत्यु भएको हो । क्षेत्रीय अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म युराल नदीको स्तर बाँधको क्षमताभन्दा झण्डै दोब्बर भएको थियो ।

हाइड्रोलिक संरचनाको उचित मर्मत नगर्दा बाँध भत्किएको र सो सन्दर्भमा आपराधिक अनुसन्धान सुरु गरिएको क्षेत्रीय अभियोजक कार्यालयले जनाएको छ । बाँधले युराल नदीको पानीको बहावबाट शहरलाई जोगाउँदै आएको थियो । शनिबार बिहानसम्म बाँध फुटेर पानी सहरका धेरै जिल्लामा पुगेपछि झण्डै दुई हजार चार सय आवासीय भवन डुबानमा परेको तासले जनाएको छ । 

“ओरेनबर्गमा आपत्कालीन अवस्था जारी गरिएको छ, जोखिम क्षेत्र स्वैच्छिक रूपमा छाड्न अस्वीकार गर्नेहरूलाई प्रहरी अधिकारीहरूको सहयोगमा जबरजस्ती निकालिनेछ”, ओरेनबर्ग क्षेत्रका प्रमुख सर्गेई सालमिनले शनिबार टेलिग्राम पोस्टमा भने । 

दुई लाख ३० हजार जनसङ्ख्या रहेको ओर्स्क कजाकिस्तानसँगको रुसी सिमाना नजिक पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ