arrow

सिआइबीको टिम परिवर्तन भएसँगै गृहमन्त्री लामिछानेविरुद्धको अनुसन्धान रोक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर : फाइल

काठमाडौँ। पोखराको सूर्य दर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि गत फागुनमा नेपाल प्रहरीले अघि बढाएको अनुसन्धान रोकिएको छ। लामिछाने गृहमन्त्रीमा नियुक्त भए लगत्तै प्रहरीले त्यससम्बन्धी अनुसन्धान रोकेको हो। ‘गृहमन्त्रीकै विरुद्ध परेको उजुरीमा कसले अनुसन्धान गर्ने सिआइबीको टिम परिवर्तन भएसँगै रोकिएको छ’, सिआइबी स्रोतले भन्यो।

प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्व सञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको थियो। तर नयाँ समीकरण बनेपछि लामिछानेमाथि अनुसन्धान रोकिएको हो। अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्राविधिक रूपले सघाइरहेको अवस्थामा सुन तस्करी सम्बन्धी बनेको आयोगले दिएको रिपोर्टको आधारमा सिआइबीको टिम परिवर्तन भएपछि रोकिएको थियो। त्यसको सङ्केत पोखरामा एसपी मोहन थापालाई चैत १३ गते राज्यव्यवस्था समितिको बैठकमा राखेर आफूमाथि कुनै पनि उजुरी नभएको भन्दै प्रतिरक्षा गरेका थिए। त्यस बेला प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई पनि साथमा राखेर प्रतिरक्षा गरेका थिए। आइजिपीले पनि उजुरीमा कुनै पनि कैफियत नदेखिएको बताएका थिए।

तत्कालीन समयमा सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सिआइबीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रालयमै बोलाएर रविमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए। निर्देशन पाए लगत्तै बज्राचार्यले विभिन्न सरकारी निकायसँग परामर्श लिएर अनुसन्धान गरेका थिए। त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग पनि परामर्श लिएकी थिइन्। ‘प्रधानमन्त्रीको सहमतिले अनुसन्धान थालेको अवस्थामा पनि उनैमाथि कारबाही गरियो’, स्रोतले भन्यो।

सूर्य दर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारपीडितले पूरक निवेदन दिएका थिए। सूर्य दर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको थियो। त्यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो।

गत भदौमा सो सहकारी ठगीको विषयमा उजुरी पर्दा अध्यक्ष थानबहादुर बुढा मगर, पूर्व अध्यक्षहरू गीतेन्द्रबाबु राई (जिबी), भूपेन्द्र राईलगायतलाई विपक्षी बनाइएको थियो। उनीहरूमध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ र भगीश्वर अर्याल पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला अदालत कास्कीले पुर्पक्ष थुनामा पठाउन आदेश दिएको थियो।

पूर्व अध्यक्ष जिबी भने फरार छन्। उनी विरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ। तर पक्राउ पर्न सकेका छैनन्। राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा सूर्य दर्शन सहकारीको रकम लगानी गरिएको थियो। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रवि प्रबन्ध निर्देशक थिए। सोही आधारमा उनीमाथि पनि छानबिनको माग राखेर पीडितहरूले उजुरी दिएपछि प्रहरी अनुसन्धानमा सक्रिय भएको थियो।

अनुसन्धान रोकिएपछि पीडितहरूले शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत ज्ञापन पत्र बुझाएका थिए। पीडितहरूले सहकारीसँग जोडिएका व्यक्तिहरूले पूर्व अध्यक्ष जिबी रविकै संरक्षणमा रहेको बताएका छन्। प्रहरीले जिबी मलेसियामा रहेको र त्यही पुगेर गत मङ्सिरमा लामिछानेले जिबीलाई भेटेको पनि दाबी गरेको थियो, अहिले यो विषयमा प्रहरीले केही बताएको छैन। पीडितहरूले रविलगायतविरुद्ध दिएको उजुरीमा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना भएको दाबी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ