arrow

नेपालमा पहिलोपटक हाइड्रोजन कारमा ग्यास भरियो, रिफ्युलिङ स्टेशन सञ्चालनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
hydrogen-refueling-station.jpg

काठमाडौँ । नेपालमै पहिलो पटक निर्माण गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा आएको छ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबले निर्माण गरेको उक्त स्टेशनबाट हाइड्रोजन रिफ्युल गर्न थालिएको ल्याबका प्रमुख उपप्राध्यापक डा विराजसिंह थापाले जानकारी दिए । 

आइतबार उक्त स्टेशनबाट केयूले कोरियाबाट ल्याएको  हुन्डाई कम्पनीको नेक्सन ब्राण्डको हाइड्रोजन फ्युल सेलयुक्त गाडीमा पहिलोपटक हाइड्रोजन ग्यास भरेको हो । 

विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि गत मंसिरमा उक्त गाडी नेपाल ल्याएको थियो । तर, फ्युल स्टेशन निर्माण कार्य पूरा नहुँदा उक्त गाडी सञ्चालन गर्न सकिएको थिएन । फ्युल स्टेशन उद्घाटनसँगै उक्त सवारी साधन सञ्चालन गर्ने बाटो खुला भएको छ । 

यो परीक्षणसँगै नेपालमा हाइड्रोजनको उत्पादन र हाइड्रोजनयुक्त गाडीको सञ्चालन गर्न सकिने प्रमाणित भएको थापा बताउँछन् । फ्युल स्टेशनको सफल परीक्षण भएसँगै अब हाइड्रोजनको उत्पादन, देशभर फ्युल स्टेशन निर्माण गर्ने र हाइड्रोजनयुक्त गाडी आयात र दर्तासम्बन्धी कानून बनाएर अघि बढ्ने बाटो खुला भएको ल्याब प्रमुख थापा बताउँछन् । 

नेपालमा हाइड्रोजनको उत्पादन र फ्युल स्टेशन नभएका कारण अहिलेसम्म नेपालमा गाडी आयात हुन सकेको थिएन । गाडी आयात हुने अवस्था नहुँदा हाइड्रोजनयुक्त गाडीको सञ्चालनसम्बन्धी कानूनी व्यवस्था छैन । अहिलेको कानून अनुसार हाइड्रोजनयुक्त गाडी नेपाल ल्याउनै सकिँदैन ।  

त्यसो त, केयूले अनुसन्धान प्रयोजनको लागि भनेर नयाँ भन्सारमा एचएस कोड कायम गरेर उक्त गाडी ल्याएको थियो । विश्वविद्यालयले करिब एक दर्जन नियामक निकायसँग अनुमतिपछि यो गाडी नेपाल ल्याएको थियो ।

त्यसअघि ल्याबले  पेट्रोल गाडीलाई इलेक्ट्रिक भेहिकल (ईभी) बनाउनेदेखि हाइड्रोजन ग्यासबाट चाउचाउ पकाएर परीक्षण गरेको थियो । उक्त ल्याबमा पाँच जना विद्यावारिधिसहित २२ जना अनुसन्धानकर्ताले काम गर्दै आएका छन् । 

हाइड्रोजनबारे अनुसन्धान अन्तिम चरणमा पुर्याएको ल्याबले अहिले एमोनिया र मिथेनकोसमेत फलामको उपयोग सम्बन्धी अध्ययन अघि बढाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ