- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि सुनसान भएको छ । कार्यालय करिब तीन वर्षदेखि काम नभएपछि त्यहाँ कार्यरत सात कर्मचारी कामविहीन भएका छन् भने तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ ।
“अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आईसीपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ”, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख दुर्गाकुमारी वलीले भने ।
उनले कोरोनाकालदेखि नै सो कार्यालयबाट हुने काम बन्द भएको जानकारी दिँदै भारतीय पक्षसँग कुरा गर्दा आईसीपी सञ्चालन भएपछि पुनः सञ्चालनमा आउने जानकारी पाएको बताए ।
अध्यागमन कार्यालयमार्फत जमुनाह नाका हुँदै तेस्रो मुलुकबाट पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै अध्यागमन प्रमुख वलीले विगतमा ‘भिसा’को म्याद थप गर्ने कार्य पनि सोही कार्यालयबाट हुँदै आएको बताए ।
खास गरी चीन, कम्बोडिया, अमेरिका र जापानबाट जमुनाह नाका हुँदै पर्यटक नेपाल आउने र नेपालबाट भारततर्फ जाने गरेको बताइएको छ ।
अहिले पनि जमुनाह नाकामा आउने पर्यटकलाई अनुमति लिनका लागि रुपन्देहीको बेलहिया नाकामा पठाउने गरेको उल्लेख गर्दै उनले भने,“काम नहुने कुरा धेरैले थाहा पाउनुभएको छ तर कहिलेकाहीँ फोनबाट सोधपुछ भइरहेको हुन्छ”, ।
कार्यालय प्रमुख वलीले कामका लागि गृह मन्त्रालयलाई पटकपटक आग्रह गरेको जानकारी दिँदै आईसीपी सञ्चालन भएपछि प्रभावकारी काम हुने आश्वासन पाएको बताए । सो अध्यागमन कार्यालयमा अहिले आठ कर्मचारीको दरबन्दी रहेको तर सात कर्मचारी मात्रै कार्यरत छन् ।