दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
865
Shares
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई आज थुनामुक्त गर्न आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।”
आदेशमा निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनु भनिएको छ ।
धिमाल र खड्कालाई प्रहरीले यही चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो ।