arrow

किन सुन तस्करी प्रकरणमा जवाफदेही बनिरहेका छैनन् अर्थमन्त्री पुन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
barshaman-pun-80-11-23.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्थ मन्त्रालयको बागडोर सम्हालेका अर्थमन्त्री वर्षमान पुनमाथि सुन तस्करी गर्ने समूहसँग उठबस रहेको देखिए पनि सो विषयमा सरकारी तहबाट अनुसन्धान गर्ने, छानबिन गर्ने र प्रष्टिकरण लिने काम गरिएको छैन ।

वर्तमान राजनीतिक समीकरणबाट सरकारमा पुगेका अर्थमन्त्री पुन र उनका आफ्नै भाइ प्रनिस पुन तथा उनका सचिवालयमा रहेका व्यक्तिहरु सुन प्रकरणमा जोडिएका व्यक्तिहरुको संगतमा रहँदा पनि कुनै प्रकारको जवाफदेहिता देखिएको छैन । 

मुख्यगरी यसअघि पटक–पटक भएका सुन तस्करीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सार्वजनिक खरिद ऐन र नियमावली विपरीत चिनियाँ कम्पनी सीएमसीलाई ठेक्का दिने गैरकानूनी निर्णय गरेका वर्षमान पुन जोडिँदै आए पनि उनको जवाफदेहिता देखिएको छैन । 

उनले यो विषयमा अनुसन्धान गर्ने निकायलाईसमेत केही भन्न सकेका छैनन् । सार्वजनिक रुपमा आफू अनुसन्धानमा सहयोग गर्छु भन्ने बाहेक उनले अरु केही बताएका छैनन् भने सरकारी निकाय पनि उनीप्रति नरम देखिएको छ । 

यतिबेला माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमै पक्राउ परेका छन् । उनले सीआईबीमा दुई पटक बयान दिइसकेका छन् । सुन अयोगमा पनि बयान दिइसकेका छन् । सुन तस्करी सम्बन्धी छानबिन समितिको रिपोर्टपछि महरा पक्राउ परे । 

अहिले उनी सीआईबीकै हिरासतमा छन् । उनको चिनियाँ सुन तस्कर दावाजिन वाङसँगको सम्पर्क देखिएकाले पक्राउ परेका हुन् । तर वर्षमान पुनका आफ्नै भाइ प्रनिस पुनको त सुन उत्खनन गर्ने कम्पनी नै रहेको छ ।
 
उनी मात्रै होइन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसमेत यो प्रकरणमा पक्राउ परेका छन् । उपराष्ट्रपतिका सचिवालय सदस्यदेखि अर्का छोरासमेत यो प्रकरणमा मुछिएर पटक–पटक सुन तस्करी गरेको प्रमाण सार्वजनिक भइरहेका छन् । वर्षमानले सुन तस्करसँग पटक–पटक संवाद गरेको, सँगै बसेर खाना खाएको जस्ता तस्बिरहरु सार्वजनिक मात्र भएका छैनन् उनी आफैँले पनि रोल्पाली चेली अमला रोकासँग भेटघाट भएकोसमेत स्वीकार गरेका छन् ।  

यस्तो अवस्थामा उनै विवादित पात्र पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालयको तालो साँचो सुम्पेपछि तस्करीलाई झन् बल पुगेको कर्मचारीहरुले जनाएका छन् । 

स्वार्थ बाझिने गरी नेताहरूलाई जिम्मेवारी दिइएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दल थप आक्रोशित भएर सदनमा कुरा उठाउदा पनि सुनुवाई भएको छैन । एयरपोर्टबाटै सुन तस्करी गर्ने गरेकोमा पहिले पनि सरकारमा गएका गृहमन्त्री र मन्त्रीको नाम विभिन्न विवादमा आउने गरेको थियो । 

अवैध आर्जनमा मन्त्री लागेकोमा प्रश्न चिह्न उठ्दै आएको पाइन्छ । अहिले पछिल्लो समयमा कहिले एमालेका नेताका काण्ड आएका छन् कहिले सुनकाण्डमा माओवादीका नेता मुछिएको विषय बाहिर आएका छन् । यस्तो अवस्थामा सरकारमा रहेका नेताहरु जिम्मेवार देखिएका छैनन् ।

राजश्व अनुसन्धान विभागले गत साउन २ गते करिब ६१ किलो सुन बरामद गरेसँगै रोल्पाली छोरी अमला रोका र ज्वाइँ दावा छिरिङको संलग्नता खुलेको थियो । 

त्यसपछि साउन १४ गते तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ गरेसँग उनीहरुको संलग्नताबारे थप पुष्टि हुने आधार फेला परेका थिए । उनकै पत्नी अमला रोका र हालका अर्थमन्त्री  पुनका भाइ साझेदार रहेको सुन उत्खनन कम्पनी रहेको पाइएको थियो । 

दावा हाल तस्करी अभियोगमा थुनामा रहेका छन् । उनीमाथि नेपालमा हुने सुन तस्करीको मुख्य व्यवस्थापकको अभियोग रहेको छ । तेस्रो मुलुकबाट विभिन्न वस्तुमा लुकाएर आयात हुने तस्करीको सुन पगाल्न दावाको श्रीमती अमला रोकाको नाममा रहेको सामाखुशीको ‘भियाना मल्टिप्रपोज ग्रुप’ संलग्न रहेको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले तस्करीको सुन प्रशोधन गर्न तस्करी समुहले पहुँचको आधारमा खानी विभागबाटै लाइसेन्स लिएकोसमेत पाइएको छ । तस्करी गरेको सुन प्रशोधन गर्ने उद्योग दावाकी पत्नी अमलासहितको हो । 

अमलासहित ४ जनाको नाममा रहेको कम्पनी ‘भियाना मल्टिप्रपोज ग्रुप प्राली’ मा वर्षमान पुनका भाइ प्रनिस पुन मगरको ३० हजार कित्ता शेयर रहेको छ । यो कम्पनीले २०७७ सालमा खानी तथा भूगर्भ विभागबाट सुन उत्खनन् तथा प्रशोधनको लाइसेन्स लिएको छ । 

स्थापना भएको ३ वर्षपछि ‘भियाना मल्टीप्रपोज ग्रुप’ले खानी तथा भूगर्भ विभागमा सुन उत्खनन् तथा प्रशोधन गर्न भन्दै लाइसेन्सको लागि निवेदन दिएको थियो । नेपालमा हालसम्म सुन खानी पहिचान नभएका कारण कम्पनीको लाइसेन्स माग आफैँमा अचम्म पार्ने खालको थियो । तर राजनीतिक दबाबमा अमलाको कम्पनीले २०७७ माघ २९ मा सुन उत्खनन् र प्रशोधनका लागि विभागबाट लाइसेन्स पायो ।
 
भूगर्भ विभागका अधिकारीहरुका अनुसार रोल्पाको सुनछहारीमा २९ किलोमिटर क्षेत्रफलमा सुन उत्खनन् गर्न भन्दै कम्पनीले लाइसेन्स लिएको थियो । ‘भियाना मल्टिप्रपोज ग्रुप’ को सुन उत्खनन् र प्रशोधन लाइसेन्स नम्बर ६५–०७७–०७८ हो । कम्पनीको ५ वर्षे लाइसेन्स को समयवधि २०८१ माघ २८ मा सम्म छ । त्यसैगरी पुनको सचिवलायमा कार्यरत रहेका जीवन रोका पनि अमलाका नातेदार भएको खुलेको छ । उनले नै वर्षमान पुनसँग अमलाको संगत गराएको स्रोतको दाबी छ ।

यसको पृष्ठभूमिका सुन खोज्न आउने चाइनिज नागरिक र कम्पनीहरु पनि रहेका छन् । २०७२ सालतिर नेपालको मध्यपश्चिम क्षेत्रमा सुन खोज्न चिनियाँ कम्पनी दर्ता भएको थियो । 

उद्योग विभागमा दर्ता भएको झोङ्वो इन्टरनेशनल मिनिरल कम्पनीले मध्यपश्चिम क्षेत्रमा सुनको सम्भाव्यता अध्ययन गरेको थियो । चीनको राजधानी बेङजिङ निवासी सुन डे लीको एकल कम्पनीलाई ‘क्यारिआउट फिजिवीलिटी  स्टडी एण्ड प्रोस्पेक्टिङ वर्क फर प्लेसर गोल्ड माइन’ का लागि सरकारले अनुमति दिएको थियो ।

स्थिर पूँजी दुई करोड तीस लाख, चालु पूँजी ६० लाखसहित जम्मा तीन करोडको लगानीमा सो खानी सम्भाब्यता गर्ने उद्योग सञ्चालन गर्ने बताइएको थियो । हाल त्यो कम्पनी हराएको छ ।

त्यतिबेला चीनको धर्मश्री माइन नामक कम्पनीले जाजरकोटमा सुन खानीको सम्भाव्यता अध्ययन शुरु गरेको थियो । जाजरकोटको खलंगा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा सुन खानीको सम्भाव्यता थालेको थियो । यी दुवै कम्पनीमा माओवादीका उच्च नेताहरुसमेत जोडिएको स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ