रवि खोज्दै सहकारी पीडितहरु, अगुवा केसीको अवस्था नाजुक
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
907
Shares
काठमाडौँ । सहकारी पीडितहरुको हकहितका लागि भन्दै आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
सरकारले कुनै चासो नदिएपछि उनको अवस्था गम्भीर बन्दै गएको हो । संसदमासमेत पनि सहकारी पीडितको विषय उठ्ने, सहकारी विवादमा गृहमन्त्री रवि लामिछाने खोज्दै सहकारी पीडितहरुले आवाज बुलन्द गर्ने तर सरकारले भने कुनै चासो नदिएपछि केसीको स्वास्थ्य बिग्रिदै गएको हो ।
केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको थियो । सोही दिनदेखि उनले आमरण अनसन शुरु गरेका थिए ।
आमरण अनसनको दुई दिनपछि वीरअस्प्ताल लगिएको थियो । रिहा गरेलगत्तै तीनकुनेमा आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरुले बताएका छन् ।
उनको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उनको जीवन रक्षाका लागि आवाज उठाउनु सबैको कर्तव्य भएको सहकारीको आन्दोलनमा सहभागी एक पीडितले बताए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुक वालमा उनले सहकारी बचतकर्ताहरुको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । उनले लेखेका छन्, ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका अध्यक्ष कुशलब केसी यही चैत १ गतेदेखि आमरण अनसनमा रहेकाले उहाँको अवस्था नाजुक हुँदै गएकाले तत्काल उहाँको जीवन रक्षा गर्न र सहकारी पीडितहरूले उठाएका माग सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्दछु। चैत१ गते भृकुटीमण्डपमा सहकारी पीडितहरुर बचतकर्ताहरूले निकालेको जुलुसमा प्रहरीले हस्ताक्षेप गरी अध्यक्ष केसीलाई कुटपिट गर्दै हिरासतमा राखेको र त्यही बेलादेखि उहाँ अनसनमा रहेको र हिरासतबाट छुटेपछि वीर हस्पिटल भर्ना भएको र एकदिन सामान्य उपचारपछि तीनकुनेमा बसेर अनसनलाई निरन्तरता दिइरहेकोले उहाँको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी वचतकर्ताहरुको उठाएका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ ।