arrow

इलाम २ को उपनिर्वाचनमा कांग्रेसले सिफारिस टुंगो लगायो, को को परे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
congress-flag1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आउँदो बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

सभापति इदिङ्गोले भने, ‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौँ ।’ दोस्रो नम्बरमा पूर्वसांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधान सभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

 बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम तेस्रो नम्बरमा सिफारिस गरेर पठाइएको उनले बताए । सिफारिस भएका नामहरू जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्ने पनि उनले बताए । 

एमाले उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त भएकाले अहिले उपनिर्वाचन गर्नुपरेको हो । 

कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधूपमा छन् । 

इलाम २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ । राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । 

क्षेत्रले पठाएका नामहरु जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ । 

एमालेले पनि ६ जनाको नाम सिफारिस गरेको छ । यद्यपि नयाँ सत्ता गठबन्धनको साझा उम्मेदवार हुने प्रवल सम्भावना भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि कसरत गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि आफ्नो उम्मेदवार उठाउने बताएको छ । 

इलाम २ को उपनिर्वाचनमा आफ्नो उम्मेदवार उठाउनका लागि २० दलले उम्मेदवारी दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ