काठमाडौँ । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारण सभा यही चैत ३ गते शनिबार काठमाडौँको होटल दुसित प्रिन्सेस लाजिम्पाटमा हुने भएको छ ।
साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा हुने महासंघका महासचिव अरुणकुमार श्रेष्ठले बताए ।
महाधिवेशन तथा वार्षिक साधारण सभामा देशभरबाट तीन सय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।
राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासंघका १८ वटा स्थानीय संस्थाहरुसमेत आबद्ध रहेका छन् ।
छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारण सभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।
छैटौँ महाधिवेशन तथा १५ औँ वार्षिक साधारण सभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघ सस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ।
साथै वार्षिक साधारण सभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालयबीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।