विद्युत प्राधिकरणमा आत्मदाह गर्ने शिवाकोटीको चेतावनीः राष्ट्रपति, गृहमन्त्री र ऊर्जामन्त्रीलाई पत्र
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
2.3k
Shares
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निलम्बित कर्मचारी दिनेश शिवाकोटीले आफ्नो जीवन रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री रवि लामिछाने र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई नियत राखेर कुनै कारण बिना निलम्बन गरेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरी निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
आफूलाई सामाजिक सञ्जालमा अतिगोप्य सूचना चुहाएको र पेस्की फर्छ्यौट नगरेको भनी झुटा आरोप लगाएर गत फागुन २३ गते दुई महिनाका लागि निलम्बन गरिएको भन्दै छैटौँ तहका सहायक इन्जिनियर शिवाकोटीले निलम्बन फुकुवा गरी दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
न्याय नपाए आफूले विद्युत प्राधिकरणकै परिसरमा आत्मदाह गर्ने चेतावनीसमेत उनले दिएका छन् । उनले निष्पक्ष न्याय निसाफ हुने आशा राखेर राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, उर्जा मन्त्रालयलाई पत्र लेखेको बताएका छन् ।
२०५४ साल बैशाख ५ गतेदेखि करारबाट प्राधिकरणमा जागिर शुरु गरेका शिवाकोटीले २०५८ कार्तिक २१ गते स्थायी नियुक्ति पाएका थिए ।
उनीसँग २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीमा रहेर कामसमेत गरेको अनुभव छ ।
उनले आफूले पेस्की फर्छ्यौट गरिसकेको तर कागज नष्ट गरेर बदनाम गराउन खोजिएको आरोपसमेत लगाएका छन् ।
उनले आफूलाई कुनै लिखित वा मौखिक जानकारी नदिइ स्पष्टीकरणकोसमेत मौका नदिई नियत राखेर एकैपटक निलम्बन गरिएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जीवनरक्षाको माग गर्दै ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।